धारिलो हतियार देखाएर आतंक मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पक्राउ

दमौली।राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका नेता प्रकाश लौडारीलाई प्रहरीले पक्राउ गरेको छ। धारिलो हतियार खुँडा देखाएर स्थानीयलाई आतंक मच्चाएको आरोपमा उनलाई हिरासतमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले दिएको जानकारी अनुसार भानु नगरपालिका–१३ चन्द्रावती निवासी लौडारीले स्थानीय दुई जनालाई धम्की दिएका थिए। उनले भानु नगरपालिका–१२ निवासी बलराम अधिकारी र भानु नगरपालिका–१३ निवासी अशोक अधिकारीलाई घरमै पुगेर खुँडा देखाउँदै मार्ने धम्की दिएका थिए।

घटना बुधबार राति भएको थियो। मदिराको नशामा रहेको लौडारी उक्त दुई जनाको घरमा पुगेर होहल्ला गर्न थालेका थिए। उनले खुँडाले घरमा झटारो हान्दै मार्छु भनेर धम्की दिएपछि स्थानीयहरू डराएका थिए। तत्काल ढोका बन्द गरेर घरभित्र लुकेपछि उनीहरू बच्न सफल भएका थिए।

लौडारीको व्यवहारबाट डरिएका स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर प्रहरी आइपुग्नुअघि नै उनी घटनास्थलबाट फरार भएका थिए। पछि खोजतलास गर्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।

हाल काठमाडौंमा बस्दै आएका लौडारी रवि लामिछानेको पक्राउको विरोधमा हस्ताक्षर संकलन गर्न आफ्नो जन्मस्थान आएका थिए। उनलाई भानु नगरपालिका–२ नारेश्वर स्थित इलाका प्रहरी कार्यालय भानुले नियन्त्रणमा लिएको छ।

प्रहरीले उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ। यस घटनाले स्थानीयमा त्रास फैलिएको छ भने राजनीतिक गतिविधिका नाममा हुने हिंसाप्रति चिन्ता बढेको छ।