कांग्रेस–एमाले गठबन्धनमा बढ्दो तनाव: विदेशी शक्तिको राजनीतिक रजगज

काठमाडौं। नेपाली राजनीतिको वर्तमान परिदृश्यले सत्ता गठबन्धनमा भद्रगोलको अवस्था सृजना गरेको छ। कांग्रेस र एमालेको साझा सरकारमा देखिएको आन्तरिक द्वन्द्व र बढ्दो अविश्वासले राजनीतिक स्थिरताका लागि गम्भीर चुनौती खडा गरेको हो। यो संकटलाई थप जटिल बनाउँदै भारत र चीनको राजनीतिक प्रभाव विस्तारको रणनीतिले नेपाली राजनीतिलाई नयाँ भुलभुलैयामा धकेलेको देखिन्छ।

कांग्रेस र एमालेको यो गैरप्राकृतिक गठबन्धन सुरुदेखि नै राजनीतिक पंडितहरूका लागि आश्चर्यको विषय बनेको थियो। विपरीत विचारधारा र ऐतिहासिक वैचारिक भिन्नता भएका यी दुई दलले जब साझा सरकार गठन गर्ने घोषणा गरे, त्यसले नेपाली राजनीतिमा नयाँ समीकरणको सुरुवात गरेको थियो। तर आजसम्म आइपुग्दा यो गठबन्धनका भित्री दरारहरू सार्वजनिक हुन थालेका छन्।

सरकारी नीति निर्धारणदेखि लिएर मन्त्रिमण्डल पुनर्गठन, संसदीय व्यवसापन र विकास निर्माणका प्राथमिकताहरूमा दुवै दलका नेताहरूबीच बढ्दो मतभेदले गठबन्धनको भविष्यलाई प्रश्नचिन्हमा राखेको छ। कांग्रेसले एमालेको एकलौटी निर्णय प्रवृत्तिको विरोध गर्दै सरकारी नीतिमा आफ्नो भूमिकालाई कमजोर भएको गुनासो गरिरहेको छ। यसका बावजुद कांग्रेसले आगामी बजेटलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ, जसले गठबन्धनको जटिलतालाई झल्काउँछ।

यस्तै परिस्थितिमा विदेशी शक्तिहरूको भूमिका चर्चाको केन्द्रमा आएको छ। भारतीय पक्षबाट हेर्दा, प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारप्रति नयाँ दिल्लीको असहजता लुकाउन नसकिने अवस्थामा पुगेको छ। यो घटनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कांग्रेस–एमाले गठबन्धनप्रति बढ्दो असन्तुष्टिलाई प्रकट गरेको छ।

उत्तरी छिमेकी चीनको रणनीतिमा पनि उल्लेखनीय परिवर्तन देखिएको छ। परम्परागत रूपमा नेपालका कम्युनिस्ट पार्टीहरूसँग घनिष्ठ सम्बन्ध राख्ने चीनले हालै आफ्नो राजनीतिक संलग्नताको दायरा फराकिलो बनाउने दिशामा काम गरेको छ। चिनियाँ नेतृत्वले नेपालका सबै प्रमुख राजनीतिक दलहरूसँग सम्बन्ध सुधार गर्ने नीति अपनाएको पाइन्छ, जसले नेपाली राजनीतिमा नयाँ समीकरणको जन्म दिएको छ।

अमेरिकी सहायतामा आएको कमीले नेपाललाई लगानी र विकास सहायताका लागि भारत र चीनमाथि बढी निर्भर बनाएको छ। यो परिस्थितिले दुवै शक्तिहरूलाई नेपाली राजनीतिमा आफ्नो प्रभाव बढाउने अवसर प्रदान गरेको छ। फलस्वरूप नेपाली राजनीतिक दलहरू विदेशी प्रभावको भुलभुलैयामा फसेको आरोप लाग्न थालेको छ।

यद्यपि यो भन्न सकिंदैन कि भारत र चीनले प्रत्यक्ष रूपमा नेपाली पार्टीहरू फुटाउने काम गरिरहेका छन्। नेपाली राजनीतिमा देखिएका आन्तरिक द्वन्द्वका जराहरू घरेलु राजनीतिकै विरोधाभास,व्यक्तिगत महत्वाकांक्षा र विचारधारागत मतभेदमा पनि छन्। तर विदेशी प्रभावले यी द्वन्द्वलाई तीब्र बनाउने काम भने गरिरहेको हुनसक्छ।

राजनीतिक स्थिरताका लागि आवश्यक छ कि नेपाली दलहरूले स्वदेशी राजनीतिक एजेन्डालाई प्राथमिकता दिँदै विदेशी हस्तक्षेपलाई न्यूनीकरण गर्ने दिशामा काम गर्नुपर्छ। अन्यथा नेपाली राजनीतिको भविष्य विदेशी शक्तिहरूको राजनीतिक शतरंजको मोहरा बन्ने खतरा छ।