तालिम गरिरहेका सशस्त्र प्रहरीका जवानको मृत्यु

धनगढी। कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका सशस्त्र प्रशिक्षार्थी जवान महेश महताको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो।

बडिमालिका जवान तालिम शिक्षालयकाअनुसार आइतबार राति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि महतालाई उपचारका लागि सशस्त्रको फिल्ड हस्पिटल अत्तरिया लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै अत्तरिया अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बिहान साढे ४ बजे उनी बेहोस् भएको सशस्त्र प्रहरीको बडिमालिका शिक्षालयले जनाएको छ। चिकित्सकले सवा ५ बजेतिर मात्रै महतालाई मृत घोषणा गरेका थिए।

दार्चुलाको नौगाड गाउँपालिका-१ घर भएका उनी फागुनदेखि सशस्त्र प्रहरीको बडिमालिका तालिम शिक्षालयमा प्रशिक्षार्थी जावनका रुपमा तालिम गरिरहेका थिए। स्वस्थ अवस्थामा महता एक्कासी बिरामी परेका सशस्त्र प्रहरीले जनाएको छ।

अहिले दार्चुलाबाट उनको बुवा आइरहेका छन्। बुुवा पुगेपछि मात्र शव परीक्षण लगायतको प्रक्रिया अघि बढाइनेछ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।