विपद् प्रभावितलाई अस्थायी आवास निर्माण गर्न सरकार लागेको छ: गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले तीव्र रुपमा अस्थायी आवास र निजी आवासको पर्वलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना गर्न सरकार सशक्त ढङ्गले लागि परेको बताएका छन्।

सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिँदै गृहमन्त्री लेखकले २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति निम्तिएको भन्दै क्षति पुगेका आवास पुनर्निर्माण गर्न निर्माण प्रक्रिया अघि बढाइरहेको बताए।

प्रश्नकर्ता सांसद मायाप्रसाद शर्माले वर्षायाम र बाढी पहिरोको जोखिम बढेसँगै भूकम्पले जाजरकोटलगायत क्षति पुगेका आसपासका जिल्लामा पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारको योजनबारे प्रश्न उठाएका थिए।

गृहमन्त्री लेखकले त्यसको जवाफ दिँदै निजी आवासमा क्षति पुगेका घरपरिवारलाई आवास निर्माणका लागि प्रतिघरपरिवार दुई किस्ता गरी रकम वितरण गरिएको जानकारी गराए।

आवास निर्माणका लागि प्रतिपरिवार ५० हजारका दरले जाजरकोटमा एक अर्ब ९१ करोड ९१ लाख ७५ हजार, रुकुम पश्चिममा एक अर्ब ६१ करोड १२ लाख, सल्यानमा सात करोड, बाजुरमा १० करोड ५० लाख, बझाङमा २५ करोड र जुम्लामा एक लाख ७५ हजार गरी कुल तीन अर्ब ९५ करोड ६५ लाख ५० हजार वितरण गरिएको बताए।

गृहमन्त्री लेखकले ‘विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि,२०८१’ जारी भई कार्यान्वयनमा रहेको उल्लेख गर्दै भूकम्पबाट प्रभावित कर्णाली र सुदूरपश्चिम प्रदेशमा ७६ हजार ३०८ घरधुरीको ‘डिडिए’ (विस्तृत क्षति आकलन) सम्पन्न भई तथ्याङ्क प्रमाणीकरण भइरहेको बताए।

तथ्याङ्क प्रमाणीकरणपश्चात् स्थानीय तहबाट लाभग्राही कायम गरी कार्यविधिअनुसार विस्तृत क्षति आकलनमा सूचीकृत भएका लाभग्राहीसँग सम्झौता गरी निजी आवास पर्वलीकरण तथा निर्माण गर्ने प्रक्रियामा छ।