विद्याको नयाँ रणनीति,ओलीका दुश्मनसँग गोप्य बैठक

काठमाडौं। नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनको प्रयास असफल भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको असन्तुष्ट समूहको भरमा राजनीतिक वापसीको रणनीति बनाएकी भण्डारीले अपेक्षित सफलता पाउन सकिनन्।

एमालेमा ओलीले आफूलाई शक्तिशाली नेताका रूपमा स्थापना गरेपछि पार्टीभित्र अधिकारको केन्द्रीकरण र आन्तरिक लोकतन्त्रको कमी भएको भन्दै असन्तुष्टि व्यक्त गर्ने नेताहरूको ठूलो समूह रहेको छ। यी नेताहरूले ओलीको कार्यशैली र निर्णय प्रक्रियाप्रति लगातार आपत्ति जनाउँदै आएका थिए।

विद्यादेवी भण्डारीको पुनरागमनलाई यी असन्तुष्ट नेताहरूले ओलीको एकाधिकारलाई चुनौती दिने सम्भावित विकल्पका रूपमा हेरेका थिए। उनीहरूको आशा थियो कि भण्डारीको उपस्थितिले पार्टीभित्र शक्ति सन्तुलन कायम हुने र ओलीको निरंकुश शैलीमा अंकुश लाग्ने। तर यो आशा पूरा हुन सकेन।

पार्टीको सचिवालयदेखि पोलिटब्युरोसम्मका बैठकहरूमा ओलीविरोधी समूहको आवाज प्रभावकारी हुन सकेन। केन्द्रीय कमिटीको बैठकमा आइपुग्दासम्म यो स्वर एकदमै क्षीण भइसकेको थियो।ओली पार्टीभित्र झन् बलियो बन्दै गएपछि उनीविरुद्ध रहेका नेताहरूलाई समेत भण्डारीले आफ्नो पक्षमा प्रस्ट्याउन असमर्थ भइन्।

यसले एमालेभित्रको वर्तमान शक्ति संरचनामा ओलीको प्रभुत्व कत्तिको गहिरो छ भन्ने कुरालाई स्पष्ट पारेको छ। भण्डारीको असफल पुनरागमनको प्रयासले पार्टीभित्रको आन्तरिक राजनीतिमा ओलीको एकछत्र नियन्त्रणलाई थप सुदृढ बनाएको देखिन्छ। 

त्यस्तै पछिल्लाे समय पूर्वराष्ट्रपति भण्डारीले नयाँ रणनीति बनाएर अगाडि बढ्ने याेजना बनाइ रहेकाे बताइन्छ।भण्डारीले ओलीका दुश्मनसँग गोप्य बैठक गरेका समेत कुराहरू सार्वजनिक हुन थालेका छन्।