एमसीसी निरन्तरताविरुद्ध कम्युनिस्ट समाजवादी पार्टीको कडा आपत्ति,तत्काल खारेज गर्न माग
काठमाडौं। कम्युनिस्ट समाजवादी पार्टी नेपालले अमेरिकी मिलेनियम च्यालेञ्ज कोर्पोरेसन (एमसीसी) सम्झौता तत्काल खारेज गर्न माग गर्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले विकासको नाममा सार्वभाैम मुलुक नेपाललाई ५० करोड अमेरिकी डलरमा विदेशीको किडास्थल बनाई रणमैदानमा परिणत गर्ने प्रयास भइरएको आरोप लगाएको छ।
नेपालमा सञ्चालित कार्यक्रमहरूको निरन्तरताका लागि अमेरिकी अर्थ मन्त्रालयबाट पठाइएको पत्रप्रति कम्युनिस्ट समाजवादी पार्टी, नेपालले तीव्र विरोध जनाएको छ।
पार्टीले आज जारी गरेको विज्ञप्तिमार्फत ५० करोड अमेरिकी डलरको उक्त कार्यक्रमलाई विकासको नाममा सार्वभौम मुलुक नेपाललाई विदेशीको नियन्त्रणमा लैजाने प्रयास भनेर उल्लेख गरेको छ। पार्टीले यसलाई राष्ट्रघाती कदम ठहर गर्दै एमसीसी सम्झौता तत्काल खारेज गर्न माग गरेको छ।
पार्टीका संयोजक हरिकृष्ण गजुरेल (भाष्कर)द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, नेपालका खनिज, स्रोत-साधनमाथि अमेरिकाको स्वामित्व कायम गर्न खोजिएको देखिन्छ, जुन कुनै पनि हालतमा स्वीकार्य छैन। पार्टीले यो कार्यक्रमलाई नेपाली जनताको स्वाभिमान र राष्ट्रियताको विरुद्धमा भएको संज्ञा दिएको छ।
विज्ञप्तिमा नेपाल सरकार र एमसीसीलाई समर्थन गर्ने राजनीतिक दलहरूलाई कडा चेतावनी दिइएको छ। पार्टीले स्वाधीनता विरोधी यस राष्ट्रघाती सम्झौताविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने बताएको छ। स्वाभिमानी नेपाली जनतालाई विरोधका कार्यक्रममा सहभागी हुन आह्वान समेत गरिएको छ।
गत वर्ष जनवरीमा ट्रम्प प्रशासनले एमसीसी परियोजनाहरू रोकेको थियो। तर हालैका दिनहरूमा अमेरिकी सरकारले नेपालमा यसका परियोजनाहरू अगाडि बढाउने घोषणा गरेको छ।
एमसीसी कार्यक्रम सन् २०२२ फेब्रुअरी २७ मा नेपालकाे संसदबाट अनुमोदन भएको थियो। तर यसको विरोधमा विभिन्न कम्युनिस्ट पार्टीहरूले निरन्तर आवाज उठाउँदै आएका छन्।
उनीहरूको भनाइ छ कि यो कार्यक्रमले नेपालको सार्वभौमसत्तामा आँच पुर्याउने काम गर्छ।
पार्टीले राष्ट्रघाती सम्झौताविरुद्ध सशक्त ढंगले अगाडि बढ्न बाध्य हुने स्पष्ट उल्लेख गर्दै आम नेपाली जनतालाई सचेत रहन र आफूहरूलाई समर्थन जनाउन आग्रह गरेको छ।

