सबै प्रदेशमा एउटा-एउटा विमान किन्नेबारे छलफल भइरहेको छ: मन्त्री पाण्डे
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डले जहाज थप्नेबारे सरकार आन्तरिक गृहकार्यमा जुटिरहेको बताएका छन्।
बिहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले हाल नेपाल एयरलाइन्सका सबै छ वटै जहाज सञ्चालनमा रहेको भए पनि यात्रुको मागअनुसार उडान गर्न जहाज अभाव रहेको बताएका छन्।
उनले एयरलाइन्सका सबै प्राविधिक सम्भावित समस्याप्रति पनि मन्त्रालय गम्भीर भएको बताए। उनले सातवटै प्रदेशमा साना विमान सञ्चालन गर्ने सम्भावनाबारे पनि मन्त्रालयले प्रारम्भिक छलफल अघि बढाएको बताए।
प्रदेशअन्तर्गतका विमानस्थल सञ्चालनका लागि सबै प्रदेशमा एउटा-एउटा सानो विमान किन्नेबारे पनि प्रदेश सरकारसँग छलफल भइरहेको उनको भनाइ छ।
उनले नेपाल एयरलाइन्सको हवाई सेवा सशक्त बनाउन मन्त्रालयले पारदर्शी प्रक्रियामार्फत नयाँ विमान खरिद गर्ने वा लिजमा ल्याउने योजना बनाइरहेको स्पष्ट पारे।
