अब खेल सिक्न मैदानको कमी हुन्न: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब खेल सिक्नका लागि मैदानको कमी नहुने बताएका छन्।राजधानीमा बिहीवार भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरका रंगशाला बन्दै गरेको र भएका रंगशालाको पनि स्तरोन्नति भइरहेकाले अब खेलाडीलाई सिक्नका लागि मैदानको कमी नहुने बताएका हुन्।

खेलकुद क्षेत्रका पूर्वाधारमा सरकारले काम गरिरहेको र महिला फुटबलरका लागि अभ्यास गर्ने ठाउँको निर्माण पनि भइरहेको उनले बताए।

उनले भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउने पनि दोहोर्‍याएका छन्। दशरथ रंगशालाको क्षमता १५ हजार रहेको र नेपाली फुटबलप्रेमीहरूका लागि अब साँघुरो हुँदै गएकाले ठूलो नयाँ रंगशाला निर्माण कार्यमा सरकार जुटेको उनले जानकारी दिए।

दशरथ रंगशालालाई स्तरोन्नति गर्ने पनि प्रधानमन्त्रीको भनाइ छ। कीर्तिपुरमा क्रिकेट मैदानको स्तरोन्नति कार्य सम्पन्न हुने चरणमा रहेको पनि उनले बताए।