माधव नेपालले झलनाथलाई भने-‘पार्टीमा बस्ने कुनै अधिकार छैन,राजीनामा दिनुस्’
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता झलनाथ खनाललाई राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिएका छन्।
खनालले निरन्तर पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै नेपालले खनाललाई पार्टीमा बस्ने नैतिक अधिकार नरहेको बताएका हुन्। शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने,उहाँलाई पार्टीबाट बिदा गरिदिनुपर्छ। यो पार्टीमा बस्ने ठाउँ नै रहेन। नैतिक अधिकारै छैन । अहिले खुरुक्क राजीनामा दिनुपर्छ, बिदा भएर जानुपर्छ।
खनालले पार्टीको संस्थागत निर्णयको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै नेपालले भने ,संस्थागत निर्णयको उल्लङ्घन गर्ने कुरामा नम्बर वान हुनुहुन्छ । उहाँको कुराको कुनै अर्थ छैन।
उनले संविधान र कानुनले कसैलाई पार्टी परिवर्तन गर्न नरोक्ने बताए । ‘कानुनले रोकेको मलाई थाहा छैन । संविधानले, कानुनले रोकेको छैन भने व्यक्तिको आफ्नो अधिकारको कुरा हुन्छ,’ उनले भने।
झलनाथ खनालले हालै एक टेलिभिजन अन्तर्वार्तामा नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए।
साथै उनले सो अन्तर्वार्तामा एमाले फुटाएर आफूले गल्ती गरेको बताएका थिए । साथै उनले आफूले एमालेमा फर्कन चाहेको बताएका थिए ।
