नेपाल–खनाल द्वन्द्व उत्कर्षमा,एकीकृत समाजवादी गम्भीर संकटमा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)भित्रको आन्तरिक द्वन्द्व अब सार्वजनिक रूपमा उजागर भएको छ। पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भएको तीव्र शब्दयुद्धले पार्टीको एकता र भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।
विवादको सुरुवात खनालले हालै एक टेलिभिजन अन्तर्वार्तामा नेकपा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि भएको हो। खनालको यस अभिव्यक्तिले पार्टीको अस्तित्वमाथिकै प्रश्न उठाएको थियो।
खनालको यो भनाइप्रति आक्रोशित बनेका अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कडा प्रतिक्रिया दिएका थिए। उनले खनाललाई लक्षित गरेर भनेका थिए, यस्तो बोलेको हो भने पार्टीमा बस्ने नैतिक अधिकार छैन, पार्टी छोडेर जान सक्छन्।
नेपालको यो कडा अभिव्यक्तिपछि खनालले पार्टी अध्यक्षको भनाइलाई अशोभनीय, गैरजिम्मेवार र तानाशाही प्रवृत्तिकोु भएको भन्दै कडा आलोचना गरेका छन्। उनले पार्टीको नेतृत्व गर्ने व्यक्तिले अर्को नेतालाई बोल्ने भाषा नबोलेको भन्दै नेपालको तीव्र विरोध गरेका हुन्।
खनालले भनेका छन्,आफ्नो कुरामा चित्त नबुझेको हो भने पार्टी बैठक बोलाएर छलफल गर्न सकिन्थ्यो वा व्यक्तिगत रूपमा सोध्न सकिन्थ्यो। तर सार्वजनिक रूपमा आदेश दिनु र पार्टी छोड्न भन्नु सरासर तानाशाही हो।उनले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको भन्दै गहिरो आक्रोश व्यक्त गरेका छन्।
खनालले पार्टी अध्यक्षलाई प्रत्यप्रश्न समेत गरेका छन्। उनले भनेका छन्, पार्टीको विद्रोहको औचित्य पुष्टि भएन, जनताको काम गर्न सकिएन भन्दा पार्टी छोडेर जा भन्ने हो तरुू उनले पार्टी नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने र जनताको अपेक्षा पूरा गर्नतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
यो विवादले नेकपा (एकीकृत समाजवादी) को आन्तरिक एकता र संगठनात्मक संस्कृतिबारे गम्भीर प्रश्नहरू उठाएको छ। एक प्रतिष्ठित नेता र पूर्वप्रधानमन्त्रीले नै पार्टीको गठनको औचित्यमाथि प्रश्न उठाउनु र पार्टी अध्यक्षले त्यसको जवाफमा पार्टी छोड्न भन्नुले पार्टीभित्रको नेतृत्वको संकटलाई स्पष्ट पारेको छ।
यस्तो उच्च स्तरीय विवादले पार्टीको भविष्यमा नकारात्मक प्रभाव पार्न सक्छ। खासगरी नेकपा एमालेबाट अलग भएर गठन भएको यो पार्टीको अस्तित्वमाथिकै प्रश्न उठेको अवस्थामा यस्तो आन्तरिक कलहले पार्टीलाई थप कमजोर बनाउने संभावना छ।
खनालको असन्तुष्टि र नेपालको आक्रामक जवाफले पार्टीभित्रको अन्तरसंघर्षलाई सार्वजनिक बनाएको छ। यसले नेकपा ९एकीकृत समाजवादी० लाई एकजुट भएर अगाडि बढ्न नयाँ चुनौती थपेको छ र पार्टीको राजनीतिक भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।
