जेन्जी पुस्तालाई कांग्रेससँग जोड्न आवश्यक: नेता कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य सङ्कटमा पर्ने चेतावनी दिएका छन् । उनले कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताए।
कोइरालाले लोकतन्त्र बिना नेपाली जनताको भविष्य असम्भव रहेको स्पष्ट पारे। बलियो कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने भन्दै उनले युवालाई पार्टीमा जोड्नुपर्नेमा जोड दिए।
विराटनगर महानगर वार्ड नं. ४ को नेपाली कांग्रेस कार्यसमितिले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान समारोहमा बोल्दै कोइरालाले लोकतन्त्रको स्थायित्व र देश विकासमा कांग्रेसको भूमिका युवालाई बुझाउनुपर्ने बताए।
उनले राजनीतिप्रति युवाको वितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे। युवालाई कांग्रेसको विचार र इतिहासप्रति आकर्षित गर्न सकिए पार्टी र लोकतन्त्र दुवै बलियो हुने उनको धारणा छ।
