पाठकको कठघरामा उभिए एल बि क्षेत्री
प्रेम प्रसाद कडेल
चितवन। अक्षर समूह चितवनको आयोजनामा साहित्यकार एल बि क्षेत्रीको अमेरिकामा ४३ दिन यात्रा संस्मरणमा कृतिको बारेमा चर्चा, परिचर्चा तथा खुल्ला बहस कार्यक्रम पाठकको कठघरामा एल बि क्षेत्री कार्यक्रम भ्याली स्टेट कलेज भरतपुरको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण विनोदबाबु रिजालले गरेको कार्यक्रममा प्रमुख अतिथि डायस्पोरिक लेखक जीवा लामिछाने उपस्थित थिए भने कार्यक्रमको अध्यक्षता अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले कार्यक्रमले साहित्यिक वृत्तमा चर्चा परिचर्चा र बहस गरेर साहित्यिक कृतिको विषयवस्तुलाई उजागर गर्न सकिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउँदै कार्यक्रममा सहभागी सबै सबैमा स्वागत सम्मान व्यक्त गरे।
कार्यक्रममा विद्वत प्रवचन प्रस्तुत गर्दै युगिन कवि भूपिन खड्काले गैर आख्यान साहित्यको विवेचना सुमधुर ढंगले निबन्धका प्रकारहरू र पाँच कालखण्डमा विभाजन गरिएको बताउँदै यो एक समाजवादी विधा भएको प्रष्ट पारे। उनले निबन्धकारले जस्ताको तस्तै घटना विश्लेषण गर्ने हुँदा यो स्वाभाविक रुपमा यसले समाजको यथार्थ चित्रण गर्ने प्रकाश पारे। कार्यक्रमको प्रश्नोत्तर खण्डमा प्रश्नकर्ताहरु डा एकनारायण पौडेल, डा केशवराज चालिसे, सामना पहाड र उदय अधिकारीले साहित्यीक कृति अमेरिकामा ४३ दिनमाथि लेखकलाई विभिन्न कोणबाट प्रश्न गर्दा हल नै रोमाञ्चित बन्यो।
उदय अधिकारीले एल बि क्षेत्री जस्ताको तस्तै घटना विश्लेषण प्रस्तुत गर्ने लेखन कलालाई बताउदै साहित्यिक यात्राको शुभकामना दिएका थिए। कार्यक्रममा सामना पहाडले उनले यात्रा संस्मरणमा लेखेका महिला पात्रको बारेमा खुल्ला यौन चर्चाका बारेमा प्रश्न गर्दा कृतिकारले आफूले जस्तो देखियो त्यस्तै लेखियो भन्दै अमेरिकनले हामीलाई गरेको सटिक विश्लेषण हाम्रो ढोंगी पनलाई चिर्दै इमान्दार प्रयास नै कृतिमा झल्किने बताए। नलेखेको भए साहित्यकारको मूल धर्म सत्य तथ्य नबाहिरिने भन्दै यही नै आफ्नो मूल प्रवृत्ति भएको प्रकाश पारे।
कार्यक्रममा डा.केशवराज चालिसेले अमेरिकाको नेपाली समाजको जस्ताकोतस्तै पस्किदा भविष्यमा अप्ठ्यारो त पर्दैन भन्ने प्रश्नको उत्तरमा कृतिकारले जे देखियो त्यही लेखियो, सामाजिक यथार्थ लेख्दा कुनै समस्या नपर्ने बताए। डा. एकनारायण पौडेलले अमेरिकामा ४३ दिन लेखन पूर्व तयारीका साथ लेखेको हो भन्ने प्रश्नको जवाफमा एल बि क्षेत्रीले आफूले करिब चार दशकदेखि डायरी लेख्न थालेको र आगामी दिनमा बेलायत र अष्ट्रेलिया भ्रमणको बारेमा कृति प्रकाशित गर्ने बताए।
हलमा उपस्थित आधा दर्जन साहित्यिक व्यक्तित्वले उनलाई प्रश्न गर्दा एल बि क्षेत्री पाठकको कठघरामा साँच्चिकै उभिएको भान हुन्थ्यो। कार्यक्रमको प्रमुख अतिथि डायस्पोरिक लेखक जीवा लामिछानेले एल बि क्षेत्रीलाई आफूले ०४० सालमा पाटन क्याम्पस पढ्ने क्रममा चिनेकोले उनी एक जिज्ञासु र अध्ययनशील लेखक भएको बताए साथै उनको साहित्यिक यात्राको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। उनीसँगै विदेश यात्रा गरेको प्रसंग समेत अविष्मरणीय क्षण भएको बताए। कार्यक्रममा चितवन नवलपरासीका प्रबुद्ध साहित्यकार एवम् साहित्यिक संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
