ढाँटले जिते नोएडामा सम्पन्न एमएफएनको उपाधि,प्रधानमन्त्रीले दिए बधाइ

काठमाडौं। नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेका छन्।

उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन्। तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल भए।

व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट आफ्नो नाममा पारे। उनले यो सफलता आफ्नो प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन्।

दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन्। उनी नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी) का संस्थापक समेत हुन्। यही एनडब्लुसीमार्फत ढाँटको प्रतिभालाई चिनिएको थियो।

दिविजले रविन्द्रको प्रतिभा पहिचान गर्दै उनलाई व्यक्तिगत खर्चमै प्रशिक्षण, बसोबास र तयारीका लागि सम्पूर्ण सहयोग गरेका थिए।

च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल भएको भन्दै प्रधानमन्त्री ओलीले रवीन्द्रलाई बधाई दिएका हुन् ।

‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ। पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई’, प्रधानमन्त्री ओलीले भनेका छन्।