करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं। देशका विभिन्न ठाउँमा करेन्ट लागेर तीन जनाको ज्यान गएको छ। नेपाल प्रहरीका अनुसार सर्लाही, रौतहट र बैतडीमा तीन जनाको मृत्यु भएको छ।

सर्लाही स्चक्रघट्टा गाउँपालिका-९ खोरिया बस्ने ३८ वर्षीय दिनेख ठाकुरको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ। बरहथवा नगरपालिका-१५ पिपरा भिट्टास्थित वर्कसपमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो।

रौतहट, ईशनाथ नगरपालिका९४ महुलिया टोल बस्ने ५० वर्षीय समिला खातुनको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँस्थित धानबारीमा धान गोड्ने क्रममा मोटरमा जडान गरेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो।

बैतडी, डिलासैनी गाउँपालिका–३ गिरिबगर बस्ने केशव कोलीको छोरा १३ वर्षीय किरण कोलीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँस्थित डिन्नीगढ खोलामा बालुवा संकलन गर्दै गरेको अवस्थामा विद्युतको पोलमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मालिकार्जुन अस्पताल गोकुलेश्वर दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो।