बहुविवाह प्रकरणमा छलफल गर्न गृहमन्त्रीले बोलाए मन्त्रिपरिषद्‍ मातहतको विधेयक समिति बैठक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्अन्तर्गतको विधेयक समितिको बैठक बोलाएका छन्। मङ्गलवार बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनलगायतका विषयमा छलफल हुने जनाइएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्रिपरिषद्‍मा प्रस्ताव गरेको उक्त विधयेक सम्बन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधेयक समितिका संयोजकसमेत रहेका गृहमन्त्री लेखकले बैठक आह्वान गरेका हुन्।

मन्त्री लेखकले उक्त विषयमा अध्ययनका साथै सरोकार भएका मन्त्री र उच्चस्तरीय सरकारी अधिकारीसँग छलफल गरिरहेका उनको सचिवालयले जनाएको छ।