वनमन्त्री शाहीले गरे राष्ट्रिय कोषको चरम दुरुपयोग, राज्यदोहनमा सबैभन्दा अब्बल
काठमाडौं। नेपाली कांग्रेसको कोटामा वन तथा वातावरण मन्त्री भएका ऐन बहादुर शाही ठकुरी राज्यका विभिन्न निकायको व्यापक दोहोनमा संलग्न रहेको खुलेको छ। सरकारी गाडीको दुरुपयोगदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषको फन्डबाट पारिवारिक विदेश भ्रमणसम्म गर्ने शाही सार्वजनिक पदको चरम दुरुपयोग गरिरहेका छन्।
बाहिरी नदेखिने तर भित्रभित्रै सबैभन्दा बढी राज्य दोहोन गरिरहेका वनमन्त्री शाही परिवारसहित विदेश भ्रमण गर्ने र आसपासेलाई सयर गराउने काममा तल्लीन रहन्छन्। उनको यो बानीले राज्यकोषमा ठूलो नोक्सान पुर्याइरहेको छ।
वन मन्त्रालयको स्थितिले राज्यको सम्पत्तिको दुरुपयोगको चरम चित्र प्रस्तुत गर्छ। मन्त्रालयका धेरैजसो गाडी निजी नम्बर प्लेटका छन्, जसमा स्कारपियो जिप, मर्सिडिज कार, बोलेरो जिप, हुन्डाई कार, फोर्ड, क्रेटा जिप, होन्डा जिप, प्राडो जिप, इसुजु टुपर, फच्युन जिप, स्ट्रोम जिप र पोलो कार समावेश छन्। यी सबै गाडी मन्त्रीको सचिवालयले दुरुपयोग गरिरहेको स्रोतले बताएको छ।
विदेश भ्रमणमा पनि शाही अग्रपंक्तिमा छन्। गत कात्तिकमा अजरबैजानको बाकुमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औं सम्मेलन कोप २९ मा वन तथा वातावरण मन्त्रालयको जम्बो टोली सहभागी भएको थियो। जलवायु विज्ञलाई पठाउनुपर्ने सम्मेलनमा मन्त्रालयले आफ्नै २६ जना कर्मचारी लगेका थिए।
तर सबैभन्दा गम्भीर भ्रष्टाचारको घटना भर्खरै सम्पन्न भएको नर्वे भ्रमणमा देखिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को कोर फन्डबाट मन्त्री शाही, उनकी कान्छी श्रीमती र निजी सचिव नर्वे पुगेर फर्केका छन्। सामान्यतया एक जना अधिकृत तथा प्रतिनिधि मात्रै जाने कार्यक्रममा मन्त्री शाही ठकुरी, उनकी श्रीमती बसना शाही र निजी सचिव भीम विष्टलाई लिएर कोषका सदस्य सचिव डा नरेश सुवेदी नर्वे गएका थिए। उनीहरूसँगै कोषका अधिकृत डा मधु क्षेत्रीसमेत थिए।
नर्वेस्थित युनिभर्सिटी अफ इन्ल्यान्डले सहयोग गरिरहेको नोरपार्ट परियोजनाको समाप्तिपछि बाँकी रहेको रकमबाट उनीहरूको खर्च व्यवस्थापन गरिएको स्रोतले बताएको छ। यो परियोजनाले काठमाडौं विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा नेपाली र नर्वेजियन विद्यार्थीलाई अध्ययन–अनुसन्धानमा जोड्दै आएको छ। हाल तीन जना नेपाली विद्यार्थी उक्त परियोजनाअन्तर्गत विद्यावारिधि अध्ययनरत छन्।
कोर फन्डमा जम्मा हुने परियोजनाको बाँकी रहेको रकम दुरुपयोग गरी नर्वे भ्रमणमा निस्किएपछि आयोजकसमेतले चासो राखेका थिए। यो परियोजना सदस्य–सचिव सुवेदीले आफैले नेतृत्व गर्दै आएका छन् र उनले नै यो सबै भ्रमणको योजना र तयारी गरेका थिए। सोह्र महिनाका लागि सदस्य सचिवमा नियुक्त गरिएका डा.सुवेदीको कार्यकाल सकिन करिब चार महिना बाँकी छ। सदस्य–सचिव नियुक्तिको अधिकार वन मन्त्रीलाई रहेको हुनाले यो संदिग्ध लेनदेनको अर्को आयाम देखिन्छ।
प्राप्त विवरण अनुसार, एनटीएनसीले तोकेको भत्ता तथा अन्य सुविधामा मन्त्रीकी श्रीमती र निजी सचिवले समेत भ्रमण गरेका हुन्। मन्त्री शाही ठकुरी कोषको अध्यक्षका हैसियतमा नर्वेको भ्रमण गरे पनि श्रीमती र निजी सचिवको खर्चका बारेमा कोष तथा परियोजनामा सहयोग गरिरहेको विश्वविद्यालयसमेतले चासो राखेको थियो।
भ्रमणमा भएको हवाई आवतजावत, होटेल, खाना तथा अतिरिक्त भत्तासहित सबै सेवा सुविधा कोषको कोर फन्डबाट गरिएको छ। स्रोतका अनुसार,होटेल,खाना,यातायात, हवाईजहाजबाहेक अतिरिक्त भत्तासमेत सबैलाई छुट्याइएको थियो। विश्वविद्यालयको एकेडेमिक कार्यक्रममा दम्पतीसहित मन्त्री पुगेपछि कोषको खर्च दुरुपयोग भएको भन्दै विरोध भएको छ।
यो घटनाले नेपाली राजनीतिमा व्याप्त भ्रष्टाचारको गम्भीरतालाई झल्काउँछ। सार्वजनिक पदमा रहेका व्यक्तिहरूले राष्ट्रिय सम्पत्तिलाई व्यक्तिगत र पारिवारिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति बढेको छ। वनमन्त्री शाहीको यस्तो आचरणले मन्त्रिपरिषद् र नेपाली कांग्रेसको छविमा धब्बा लगाएको छ।
राज्यकोषको यस्तो चरम दुरुपयोगको विषयमा संसदीय छानबिन र न्यायिक अनुसन्धानको आवश्यकता देखिएको छ। जनताको कर र विदेशी सहयोगबाट आएको पैसाको यस्तो दुरुपयोग कानुनी कारबाहीको विषय हो।
