बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त
हेटौंडा। बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन्। उनी ४ मङ्सिर २०७० मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन्।
९ साउन ०८२ मा मुख्यमन्त्रीसमेत रहेका दल नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । १३ साउनमा अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले दल नेताको हैसियत गुमाएका थिए । गत १४ साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा लामालाई हराएपछि बानियाँको मुख्यमन्त्री हुने बाटो खुलेको थियो।
कांग्रेसकै बहादुर सिंहले आइतबार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दर्ता गराएका थिए। उनको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि २४ घण्टाको अर्थात् मङ्गलवार दिउसो २ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
सरकार गठनका लागि आह्वान भएको करिब आधा घण्टामै बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गरेका थिए।
११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ। प्रदेश सभामा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।
