तारकेश्वर नगरपालिका-११ का वडाध्यक्षसहित ११ जना पक्राउ
काठमाडौं । तारकेश्वर नगरपालिका ११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा कुटपिट गरी घाइते बनाएको आरोपमा उनीविरुद्ध जाहेरी परेको छ ।
झडपमा घाइते भएका व्यक्तिले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि प्रहरीले पक्राउ पुर्जी लिएको थियो । वडाध्यक्ष बस्नेत पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि आफैँ प्रहरीले कहाँ पुगेका हुन् ।
प्रहरीले वडाध्यक्ष बस्नेतसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई बालाजु प्रहरी वृत्तमा राखेर बयान लिइरहेको प्रहरीले जनाएको छ । १३ जनाविरुद्ध उजुरी परे पनि आज ११ जना एकसाथ बालाजु प्रहरी वृत्तमा उपस्थित भएको काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दले जानकारी दिए ।
सीमा विवादमा दुई पक्षबीच असार २३ गते झडप भएको थियो । सोही विषयमा १३ जनाविरुद्ध काठमाडौं महानगरपालिका १६ का स्थानीयले किटानी जाहेरी दिएका थिए ।
तारकेश्वर नगरपालिका वडा नं ११ र काठमाडौं महानगरपालिका १६ को सीमाना पर्ने महादेव खोला किनारमा बाँध बनाउने विषयमा स्थानीयबिच झडप भएको थियो । सोही क्रममा केही व्यक्ति घाइते भएका थिए।
