प्रचण्डको ओली पथ-माओवादीमा एकलौटी शासनको सुरुवात

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकछत्र शासन स्थापना भएको छ। उपमहासचिव जनार्दन शर्मा प्रभाकरलाई चौतर्फी घेराबन्दीमा पारेर आत्मआलोचनामा बाध्य पार्न सफल भएका प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीको पथमा हिँड्ने संकेत देखाएका छन्।

साउन १४ को पदाधिकारी बैठक र साउन १६ देखि १९ सम्म चलेको स्थायी समिति बैठकमा चार वर्षदेखि पार्टी निर्णयमा हस्ताक्षर नगरेका जनार्दनलाई अन्ततः आत्मआलोचनामा बाध्य पार्न प्रचण्ड सफल भएका हुन्। पार्टी फुटाउन लागेको आरोप लाग्दा र एमालेमा भीम रावलको जस्तै अवस्था हुने डरले जनार्दन झुकेको माओवादी नेताहरूको भनाइ छ।

माओवादी केन्द्रको ध्यान मिसन ०८४ मा रहेकाे छ। टुटफुटका माओवादी जोड्दै पार्टी एकता गर्ने र बलियो शक्ति बनाउने अध्यक्ष प्रचण्डको चाहना हो । तर पार्टीमा भने अन्तरसंघर्ष हाबी देखिन्छ।

 पेलेरै अघि बढ्ने शैलीका प्रचण्डले सिंगो पार्टी पंक्ति आफ्नो कब्जामा लिएका छन्। माओवादी पदाधिकारी र केन्द्रीय समिति बैठकले यो कुरा पुष्टि गरिसकेको छ। यतिबेला अध्यक्ष प्रचण्ड ओली पथमा देखिएका छन्।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र भित्रको अन्तर संघर्षले यतिबेला राम्रै स्थान पाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकर विचको टसलले पार्टी केन्द्रदेखि तल्लो तहसम्म बहस छेडियो।

साउन १४ को पदाधिकारी बैठक र साउन १६ देखि १९ सम्म चलेको स्थायी समिति बैठकमा प्रचण्ड–प्रभाकर वारको चियो चर्चा पनि भयो। अन्तर कलहको बहस यतिसम्म पुग्यो कि माओवादी हेडक्वाटर पक्षका नेताहरुले जनार्दनलाई पार्टी फुटाउन लागेको आरोप लगाए।

साथै नेतृत्व विरुद्ध धावा बोलेको भन्दै प्रभाकरलाई आत्मआलोचना गर्न समेत दबाब दिए। जनार्दनले पनि पार्टीले ०६४ पछि ब्यहोरेको क्षतिको बिषयमा समिक्षा हुनु पर्ने र नेतृत्वले त्यसको जिम्मा लिनु अड्डी कसिरहे।

हुनत प्रचण्ड–जनार्दनबीचको टसल भर्खरैको होइन। पार्टी नेतृत्व र पार्टी निर्णयमा असहमति जनाउँदै जनार्दनले ४ वर्षदेखि पार्टी माइन्यूटमा हस्ताक्षर समेत गरेका थिएनन्।

अन्ततः ४ बर्षदेखि पदाधिकारी, स्थायी समिति सहित केन्द्रीय समितिको बैठकको निर्णयमा हस्ताक्षर नगरेकोमा भने जनार्दनले आत्मालोचना गर्दै हस्ताक्षर गर्ने अवस्थामा पुगे।

जनार्दनले पटकपटक पार्टी बैठकमा असहमति राख्दै समिक्षाको खोजी गर्दा प्रचण्ड उनलाई गलाउने तर्फ अगाडि बढे। माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा जनार्दनकै गृह जिल्ला रुकुम पुगेर प्रचण्डले जनार्दनलाई चेतावनी दिएका थिए। पार्टी छाडेर जाँदा नेताहरु मात्रै जाने तर कार्यकर्ताहरु भने क्रान्तिकारी हुने र मुलुपार्टीमै रहने भन्दै प्रचण्डले जनार्दनलाई चुनौति दिएका थिए।

त्यसपछिका दिनमा पटकपटक प्रचण्डले जनार्दनलाई पार्टी भित्र पेलानको रणनीति अपनाए। फलस्वरुप स्थायी समतिको बैठकमा जनार्दनलाई आत्मालोचना नगरे स्पष्टीकरण नै लिने तर्फ उद्घत भए प्रचण्ड।

त्यसपछि आत्मालोचनासहित बैठकका निर्णयहरुमा हस्ताक्षर गर्न तयार भए जर्नादन। एमालेमा भीम रावल बन्ने खतरा देखिएपछि कारबाहीको डरले जनार्दन बैठकका निर्णयमा हस्ताक्षर गर्ने निश्कर्षमा पुगेका हुन्। कतिपयले जर्नादनले महासचिवको तीर हानेर प्रचण्ड तर्साउन खोजेको समेत विश्लेषण गरेका छन्।

यतिबेला प्रचण्ड पक्षका नेताहरु जनार्दनको हार र प्रचण्डको जित भएको विश्लेषण गरिरहेका छन्। तर आलोचनात्मक चेत बोकेका नेताहरु भने माओवादीमा अझै ठुलो बिष्फोट आवश्यक रहेको चेतावनी दिइरहेका छन्।

यता, राजनीतिक विश्लेषकहरुले माओवादी भित्रको विवादलाई आआफ्नै ढंगले विश्लेषण गरिरहेका छन्। राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर जगदीशचन्द्र भण्डारी प्रचण्ड–प्रभाकर विचको लँडाईको जड नेतृत्व रक्षा र चाहना रहेको बताउँछन्।

जनार्दनलाई चैतर्फी घेराबन्दीमा पार्न सफल भएका अध्यक्ष प्रचण्डले माओवादी पदाधिकारी र स्थायी समिति बैठकमा समाजवादी मोर्चामा आवद्ध दल नेकपा र नेकपा एस संग एकताको व्रिफिङ गरेका थिए। विगतमा प्रचण्डका कट्टर आलोचक माओवादी नेताहरुले पनि प्रचण्डको व्रिफिङलाई स्वागत गर्दै राजनेताको रुपमा प्रशंशा पनि गरेका छन्।

स्थायी समिति बैठकको २६ बुँदामा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपासंग पार्टी एकता गर्ने सर्वसम्वती निर्णय समेत गरियो भने नेकपा एससंग एकता वार्ता प्रक्रिया अघि बढाउने निर्णय भयो। यो निर्णयले माओवादी एकताको औपचारिक शुभारम्भ भएको भन्दै नेताहरु हौसिन पुगे। तर तत्कालै बसेको विप्लव नेतृत्वको नेकपाले स्थायी समिति बैठक मार्फत माओवादीसँग एकता तत्काल असम्भवको निष्कर्ष निकालिदियो।

यसले माओवादी अध्यक्ष प्रचण्डलाई गतिलो झापड दिएको छ भने कार्यकर्तालाई निरास पारिदिएको छ। यद्यपि राष्ट्रिय राजनीतिमा अस्तित्व रक्षामा रहेका विप्लव समूहले तत्काल एकता असम्भव रहेको निश्कर्ष निकाले पनि थप छलफलका लागि भन्दै केन्द्रीय समितिको बैठक बोलाएको छ। तर माओवादीको निर्णय सार्वजनिक भए लगत्तै विप्लवले एकताको सम्भावना नरहेको सार्वजनिक गर्नुले जनार्दन समूहलाई साथ दिने रणनीतिका रुपमा लिइएको छ।

पदाधिकारी र स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डको एकलौटी निर्णय हाबी भयो। विशेष महाधिवेशन र नेतृत्व माथि धावा बोलेका जर्नादन आत्मालोचनाको मोडमा पुगे। अध्यक्ष प्रचण्डले जनार्दनलाई साइजमा ल्याउन पार्टीका शिर्ष नेताहरु नै मैदानमा उतार्दा सफल भए। चौतर्फी घेराबन्दीमा परेका जनार्दनले अन्ततः स्थायी समिति बैठकको सफलतापुर्वक सम्पन्न भएको भन्दै आत्माआलोचना स्वीकार गरे।

यस्तोमा माओवादीमा प्रचण्ड–प्रभाकर वारले प्रचण्ड अर्को ठुलो कम्युनिष्ट दल नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पथमा पुगेको स्पष्ट भएको छ।

ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले सक्रिय राजनीतिको ढोका बन्द गर्नेदेखि आफुखुसी ७० बर्षे उमेरहद र कार्यकारी प्रावधान हटाएर आजीवन पार्टी नेतृत्व सम्हाल्ने दौडलाई सहज बनाएका थिए। एमालेमा ओलीराजको चर्चा भइरहेका बेला माओवादीमा प्रचण्ड पथ हाबी भएको विश्लेषण भएको छ।

प्रचण्डको पार्टी एकताको प्रस्ताव लत्याएका विप्लवको छुट्टै तयारी देखिन्छ। विप्लव आफ्नो नेतृत्वको नयाँ कम्युनिष्ट ध्रुबीकरणको तयारीमा छन्। माओवादीका अन्य धार मोहन बैद्य,आहुती सहित धर्मेन्द्र वास्तोला पक्षलाई पोल्टामा पार्ने उनको दाउ छ। अर्कातर्फ पछिल्लो पटक विप्लवले एमालेमा इतर पक्षमा रहेका ईश्वर पोखरेल र माओवादीमा इतरमा रहेका प्रभाकरसंग छुट्टै भेटघाट गरेका थिए।

उक्त भेटमा नयाँ बाम शक्तिको तयारी बारे बहस भएको चर्चा भएको थियो। सोमबार बसेको विप्लव नेकपा स्थायी समिति बैठकको निर्णयले समेत त्यो पुष्टि गर्छ। यस्तो अवस्थामा प्रचण्ड नेतृत्वको माओवादी र ओली नेतृत्वको एमाले फुटाएर नयाँ बाम शक्ति निर्माण गर्ने रणनीतिमा विप्लव लगेको कुरामा थप बल पुगेको छ।

उसो माओवादी भित्रको अन्तरविरोध यतिकै रोकिनेवाला भने देखिदैन। जनार्दनको मौनता र प्रचण्डको आक्रमकताले पार्टीमा ठुलै हलचल ल्याउने आशंका कायमै छ। तर राष्ट्रिय राजनीतिमा अस्तित्व रक्षाको अवस्थामा पुगेको माओवादी भित्रको यस्ता विवादले उसैलाई घाटा हुने देखिन्छ।

०६४ को पहिलो संविधानसभा चुनावमा पहिलो दल बनेयता माओवादी ३२ सिटका साथ तेस्रो शक्तिमा खुम्चिएको छ। जुन संख्यालाई प्रचण्डले जादुमयी संख्या अर्थात म्याजिक नम्बर बताउने गरेका छन्।