माधव र झलनाथको दोहोरीले एकीकृत समाजवादी संकटमा, पार्टी नै विभाजनको खतरामा

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपाललाई राजीनामा दिन सुझाव दिएका छन्।

पार्टी कार्यालय आलोकनगरमा भएको खनाल र नेपालबीचको भेटमा उक्त प्रस्ताव राखेका हुन्। पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका कारण अध्यक्षबाट राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएका थिए।

अध्यक्ष नेपालले भने त्यसमा जवाफ दिएका छैनन्। नेता खनालले आफूले प्रस्ताव राखेको तर त्यसबारे छलफल भइनसकेको बताए। खनालले शनिबारको भेट नेपालसँग लामो नभएको पनि बताए। उनले भने माधवजीसँग लामो समय रहेन छ,त्यसैले धेरै कुरा हुन पाएन।

केही सातादेखि एकीकृत समाजवादीका नेता खनाल र अध्यक्ष नेपालबीच सम्बन्ध तिक्त बन्दै आएको छ। एकले अर्कोलाई पार्टी छोड्न धम्कीसमेत दिएका छन्। केही दिनअघि नेता खनालले एमालेसँग विद्रोह गर्नुको कारण पुष्टि नभएको तर्क गरेका थिए।

सार्वजनिक रुपमा नै खनालले उक्त धारणा राखेका थिए। र, एमाले विभाजन गरेको प्रति पश्चाताप भएको पनि उल्लेख गरेका थिए। खनालको उक्त अभिव्यक्तिपछि अध्यक्ष नेपालले पार्टी छोडेर जान सुझाव दिएका थिए।

खनालको अभिव्यक्ति आएको भोलिपल्ट नै नेपालले पनि सार्वजनिक रुपमै खनाललाई पार्टीमा बस्ने अधिकारसमेत नभएको टिप्पणी गरेका थिए।