देशभर बिहानैदेखि वर्षा,यस्तो छ दिनभरको मौसम
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार सोमबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पछिल्लो एक घन्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा भएको छ । पछिल्लो तीन घन्टामा बाराको निजगढमा ७० मिलिमिटर वर्षा भएको छ । सर्लाहीको मानुसमरामा ५२.६ मिलिमिटर, बर्दियाको मानपुरमा ६८.८ मिलिमिटर, सर्लाहीको मलंगवामा ३४.२ मिलिमिटर, रौतहटको रामोली बैरियामा २९.६ मिलिमिटर वर्षा भएको छ । अरू विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
यस्तै, सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर साधारणतया बदली रहनेछ ।
महाशाखाका अनुसार राति मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी प्रदेशको पहाडी भू–भाग तथा मधेश प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

