ग्राहकको २ करोड ८४ लाख जुवा खेलेको आरोपमा बैंकका कर्मचारी पक्राउ

काठमाडौं।महालक्ष्मी विकास बैंकको रकम हिनामिना गरेको आरोपमा कर्मचारी पक्राउ परेका छन्।

दार्चुला शैल्यशिखर नगरपालिका–९ स्थित बैंकबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ हिनामिना भएको छ। हिनामिनाको आरोपमा बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त हिजो पक्राउ परेका हुन्।

बैंकको केन्द्रीय कार्यालयको टोलीले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको र सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक छत्र बहादुर राउतले जानकारी दिए।

बैंकको प्रारम्भिक अनुसन्धानबाट उनीहरु चारै जनाले अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको छ। जुन नेपालमा प्रतिबन्धित हो। रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरुलाई निलम्बन गरेको छ।