कुलमान बर्खास्तसँगै ओरालो यात्रामा प्राधिकरण, डेढ अर्ब घट्यो नाफा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ भएको छ । यो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३७।३२ प्रतिशतले कम हो। २०८०/८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

कुलमान घिसिङले नेतृत्व सम्हालेयता प्राधिकरणले नाफा बनाइरहेको थियो । तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफामा समेत ओरालो आएको तथ्यले देखाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गएको वर्षको तुलनामा विदेशी मुद्रा जापानी यानमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवम् औसत बिजुली बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको बताएका छन् । अहिले नाफामा कमी आए पनि आउँदो वर्षमा वृद्धि हुने उनको दाबी छ ।

कार्यकारी निर्देशक शाक्यका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा जडित कुल विद्युत् क्षमता ३ हजार ५ सय ९१ गिगावाट पुगेको छ ।

प्राधिकरणका अनुसार नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावट घण्टा पुगेको छ। यस्तै राष्ट्रिय ग्रेड पहुँच झन्डै ९८ प्रतिशत पुगेको छ भने विद्युत् चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ ।

प्राधिकरणको कुल सम्पत्ति २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४ सय ३४ मेगावट विद्युत् उत्पादन क्षमता थप भएको छ ।