प्रचण्डले रविलाई पहिला सिस्नु लगाएर अहिले तेल घस्दै हुनुहुन्छ: सचिव भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा नेकपा माओवादी केन्द्रले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा बिहीबार विशेष समयमा बोल्दै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिला रविलाई सिस्नुपानी लगाएर अहिले आफैंले तेल घसिरहेको टिप्पणी गरे।

‘आफैं प्रधानमन्त्री भएको बेला संसदीय छानबिन समिति बनाएर उहाँ समेतको पार्टीका साथीहरूसमेत बसेर निज अभियुक्त हुन् भनेर किटान गरेर पठाएको कुरालाई पहिला आफूले सिस्नु पानी लगाउने अनि अहिले तेल घस्न जाने जस्तो गैर राजनीतिक मापदण्ड बनाउनु आवश्यक छैन।

उनले भने, ‘प्रचण्डले नै गृहमन्त्री बनाउनुभयो। उहाँले नै संसदीय छानबिन समिति बनाउन राजी बनाउनुभयो। पहिला सिस्नु पानी लगाएर अहिले तेल घस्दै हुनुहुन्छ।

प्रचण्डले बुधबार साँझ नख्खु कारागार पुगेर रवि लामिछानेलाई भेटेका थिए।

भट्टराईले अदालतमा विचाराधीन रहेका विषयमा भीड जम्मा पारेर प्रभावित पार्न खोजेको आरोप पनि लगाए।