आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यसको प्रभावले कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी प्रदेशको तराई साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभाग साथै कोशी र लुम्बिनीको तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
