महिनावारी बार्न खेतमा पाल टाँगेर सुतेका दुईजनाको ढुंगा लागेर मृत्यु

सांकेतिक तस्बिर

टिकापुर। अछाममा महिनावारी बार्न खेतमा पाल टाँगेर सुतिरहेको अवस्थामा ढुंगा लागेर दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा मंगलबार बिहान करिब ५ः३० बजे भीरबाट खसेको ढुङ्गाले त्रिपालमुनि सुतेका तीन जनालाई च्याप्दा घटनास्थलमै दुई जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनाल छन् । घटनामा कविता भण्डारीकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।

उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले त्रिपाल टाँगेर सुतिरहेका उनीहरुलाई ढुङ्गाले लागेको थियो । तीमध्ये दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक खनाल र भण्डारी दुवैजना माइतीघरमा आएर महिनावारी भएपछि खेतमा पाल टाँगेर सुतेका थिए । भण्डारीकी ७ वर्षीया छोरी आमाको मायाले उनीहरूसँगै त्रिपालमुनी सुतेकी थिइन् । आमा गम्भीर घाइते हुँदा छोरीसहित थप एक जनाको मृत्यु भएको हो ।