जडिबुटीमा बससँग स्कुटर ठोक्किँदा २ जनाको मृत्यु
काठमाडौं। काठमाडौं जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
ज्यान गुमाउनेमा स्कुटरमा सवार दुई जना रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।
दुर्घटनामा नवलपरासीको सुनवल नगरपालिका—१ घर भइ भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र स्कुटरको पछाडि बस्ने काभ्रेपाञ्चोक पाँचखाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो।
गएराति जडिबुटीमा रहेको आकाशे पुल नजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१–००६ ख ४२४३ नम्बरको बसको पछाडिपट्टिको भागमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो।
बस चालक दोलखाको भिमेश्वर नगरपालिका–७ घर भइ काडाँघारी बस्ने २५ वर्षका सुभाष तामाङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको एसपी बोहोराले बताए।

