युवा गजलकार कमल अर्यालको अनुसन्धानपरक कृति सिलायात्रा लोकार्पण
प्रेम प्रसाद कडेल
चितवन। गजलकार कमल अर्यालको अनुसन्धानपरक कृति सिलायात्राको लोकार्पण कार्यक्रम रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। यस कार्यक्रमको सभापतित्व वाल्मीकि साहित्य समाजमा अध्यक्ष रामबाबु घिमिरेले गरेका थिए।
चितवनका ऐतिहासिक महत्त्वका क्षेत्रहरूको अनुसन्धानमूलक सामग्री सिलायात्रामा समावेश छन् । यो पुस्तक तथ्य, इतिहास र भावनाको सिलाखोज हो।
लेखक अर्यालका मातापितासहित वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरे, प्रमुख अतिथि केदारनाथ खनाल, चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, समीक्षक कपिल अज्ञात र उदय अधिकारीले कृति विमोचन गरेका हुन्। कृतिमाथि बोल्दै समीक्षक कपिल अज्ञातले सिलायात्रा खोजमुलक कृति भएको बताए ।
ञलेखक अर्यालले खोज अनुसन्धान गरेर अझ भनौँ सिला खोजेर विशेषगरी चितवनको पूर्वी क्षेत्रका ऐतिहासिक, धार्मिक एवम् पुरातात्त्विक सामग्रीलाई संकलन गर्नुभएको छझ अज्ञातले भने – ञअर्यालको गद्य लेखन राम्रो देखिएको छ। सिलायात्राले उहाँको साहित्यिक यात्रालाई सहज बनाएको छ ।
कार्यक्रममा तिलकराज शर्माले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी उदय अधिकारी र चेतराज रेग्मीले पनि कृतिको समीक्षात्मक टिप्पणी राखेका थिए ।
कार्यक्रममा जगन्नाथ पण्डित, रामेश्वर रिजाल, टिएन अर्यालले शुभकामना मन्तव्य राखेका थिए । राजेन्द्र घायल, यमुना अधिकारी न्यौपाने, समिता पौडेल न्यौपाने, प्रेम कँडेल, अशोक भुसाललगायतका कवि तथा गजलकारहरुले रचना वाचन गरेका थिए ।
तिमी आउनु अघि, तिमी आएपछि र लौरो गरी तीनवटा गजलसङ्ग्रह साथै उत्तरकी अप्सरा, यात्रासंस्मरण प्रकाशन गरेका अर्यालको सिलायात्रा पाँचौँ कृति हो। चितवनका ऐतिहासिक, धार्मिक एवम् पुरातात्त्विक वस्तुको सिला खोजेर अनुसन्धानपरक कृतिका रूपमा सिलायात्रा तयार गरेको लेखक अर्यालले बताए। रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रहेको छ।
