सरकार सत्ताकब्जा गर्न थाल्यो,आन्दोलनमा जानुको विकल्प छैन: उपाध्यक्ष सापकोटा
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले सोमवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशता बनेकाले आफ्नो पार्टीले आन्दोलनको तयारी गरेको बताएका हुन्। उपाध्यक्ष सापकोटाले सरकारलाई दबाव दिन र जनतालाई जागृत गर्न सडक आन्दोलनको विकल्प नरहेको तर्क गरे।
सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएकाले त्यसको तयारी गर्न उनले नेता, कार्यकर्तालाई आह्वान गरे। सरकार अधिनायक, तानाशाह र निरंकुश बनेकाले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाइ थियो।
सापकोटाले भने,तपाईंहरूलाई आन्दोलनको मानसिकता बनाउन आग्रह गर्छु। अहिलेको दुई दलीय सरकार राज्य सत्ता कब्जा गर्नेतिर अगाडि बढेको छ। राज्य अधिनायकवाद‚ तानाशाही र निरंकुशतातिर गइरहेको छ।
उपाध्यक्ष सापकोटाले सत्तारुढ काँग्रेस–एमालेबीच पनि भयानक ठूलो अन्तरविरोध रहेको तर्क गरे।
