पत्रकार,प्रहरी र न्यायाधीश पार्टीका होइन,देशका हुनुपर्छ: मेयर साम्पाङ

काठमाडौं।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रकार, प्रहरी, कर्मचारी र न्यायाधीशजस्ता राज्यका महत्त्वपूर्ण अंगहरू कुनै पनि राजनीतिक दलप्रति नभई देश र जनताप्रति निष्पक्ष र बफादार हुनुपर्नेमा जोड दिएका छन्।

उनले दलीय प्रभावबाट मुक्त, स्वतन्त्र र निष्पक्ष राज्य संयन्त्रको आवश्यकता औंल्याउँदै यस्ता निकायहरूले कसैको पक्ष नलिई न्यायको पक्षमा उभिनुपर्ने बताए।

सोमबार काठमाडौंमा आयोजित ‘हर्क साम्पाङ अ रिभोलुसन’ को भेला तथा संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले भने, ‘पत्रकार पार्टीको हुनुहुँदैन। प्रहरी पार्टीको हुनुहुँदैन। कर्मचारी पार्टीको हुनुहुँदैन। न्यायाधीश पनि पार्टीको हुनुहुँदैन। अख्तियार पार्टीको हुनुहुँदैन।

उनले आफ्नो अभियानमा पत्रकारहरूलाई सामेल हुन आग्रह नगर्नुको कारण पनि उनीहरूको निष्पक्ष भूमिकाको अपेक्षा गर्नु रहेको स्पष्ट पारे। ‘तपाईं राज्यको हो, देशको हो,उनले भने,देश रहेसम्म पत्रकारिता रहन्छ, देश रहेसम्म पत्रकार रहन्छ।

न्यायको परिभाषा निष्पक्षता भएको बताउँदै उनले तराजुको उदाहरण दिएर आफ्नो धारणा प्रस्ट्याए। ‘न्याय के हो ? न्याय भनेको निष्पक्षता हो, उनले भने,तपाईं तराजुको डण्डाबाट बीचमा उभिन सक्नु नै न्याय हो। तपाईं यता ढल्किनुभयो भने त्यो अन्याय हो,उता ढल्किनुभयो भने त्यो पनि अन्याय हो। पत्रकार सधैँभरि तराजुको बीचको डण्डाबाट सिधा ९० डिग्रीको कोण बनाएर उभिनुपर्छ।

उनले आफ्नो अभियानमा लागेका समर्थकहरूलाई अन्य दलका व्यक्तिहरूलाई शत्रुको रूपमा नहेर्न आग्रह गरे। विचार नमिल्दैमा कोही पनि पराई नहुने भन्दै उनले भने, ‘हाम्रो संगठनमा आबद्ध कोही कसैले कुनै दलको मान्छेलाई पराई वा शत्रु भनेर नभन्नुहोला। उहाँले आज कुरा बुझ्नुभएको छैन, भोलि बुझेर तपाईंसँगै श्रम गर्न आउनुहुनेछ भनेर सम्झाउनुपर्छ।’

मेयर साम्पाङले देश विकासका लागि सबै नेपाली एक भएर श्रममा जुट्नुपर्ने आफ्नो पुरानो अडान दोहोर्‍याए। ‘कलमले मात्रै देश बन्दैन, औजार चलाउनुपर्छ। नीति र निर्णयले मात्रै देश बन्दैन, श्रमदान गर्नुपर्छ,’ उनले भने। उनले परनिर्भरताले देशलाई गरिब बनाएको भन्दै उत्पादनमा जोड दिएर आत्मनिर्भर बन्नुपर्ने बताए।

काठमाडौंमा आयोजना गरिएको भेलामा उनका समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। साम्पाङले आफ्नो अभियानलाई देशव्यापी बनाउने संकेत गर्दै सबैलाई एकता र श्रमको माध्यमबाट देश निर्माणमा लाग्न आह्वान गरे।