आईजीपी थापा आज अवकास हुँदै, चार एआईजी पद रिक्त

काठमाडौं। नेपाल प्रहरीका ३१ औँ महानिरीक्षक दीपक थापा अनिवार्य अवकासमा गएका छन्। प्रहरीको ३० वर्षे सेवाहदका कारण थापा बिदा भएका हुन्। उनले पाँच महिना १३ दिन प्रहरीको नेतृत्व गरे। प्रहरी प्रधान कार्यालयले थापाको बिदाईमा भब्य कार्यक्रमको आयोजना गरेको छ।

दिउँसो दुई बजे प्रहरी हेडक्वार्टरमा सबै दर्जाका प्रहरीहरुलाई उपस्थित हुने निर्देशन दिइएको छ। थापाको छोटो कार्यकाल पनि विवादरहित रहन सकेन। आईजीपी नियुक्त भएसँगै थापाले एक महिना पहिल्यै बिदा हुने बताए पनि आफ्नो अवधि लम्ब्याउन नियमावली संशोधनकै चलखेल भयो।

यही बीचमा थापाकै निर्देशनमा हातहतियार र बन्दोबस्तीका सामान खरिदमा सेटिङमा ठेक्का लगाइएको भन्दै आलोचना भयो।

थापा आईजीपी बनेकै दिन काठमाडौंबाट २५ करोड नगद बरामद भएपछि प्रशंसा पाएका थिए। तर, चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनमा म्याद गुज्रेका अश्रुग्यास हान्नेदेखि अनावश्यक बल प्रयोग गर्नेसम्मका कदमहरु विवादित बने।

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका समयमा पूर्वगृहमन्त्री रवि लामिछानेको सरुवादेखि ठगीका मुख्य आरोपी जीबी राईलाई पक्राउ गर्नेसम्मका काममा उनको नेतृत्व पनि असफल सावित भयो।

त्यस्तै आईजीपी थापासँगै आज एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि ३० वर्षे सेवाअवधी पूरा गरी अवकास हुँदैछन् । उनीहरु २०५२ भदौ १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा भर्ना भएका थिए। उनीहरुको अवकासपछि नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुँदैछ ।

एआईजी कृष्णहरि शर्मा पोखरेल गत साता उमेर हदका कारण अवकास भएका छन्। ३२ औँ प्रहरी महानिरीक्षकमा चन्द्रकुबेर खापुङ नियुक्त भईसकेका छन्। गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो। उनले भोलिदेखि कार्यभार सम्हाल्नेछन्।