आजदेखि नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरु हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दुई वर्षदेखि विचाराधीन रहेको यो मुद्दा अब टुंगो लाग्ने अन्तिम चरणमा पुगेको हो ।

यस प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी, बालकृष्ण खाँण लगायत ३१ जना जोडिएका छन् । पछिल्लो समयमा साक्षी बयान र बकपत्रसम्बन्धी प्रक्रिया सकिएपछि अदालतले साप्ताहिक पेशी सूचीमा राख्दै आजदेखि अन्तिम बहस सुरु गर्न लागेको हो ।

यसअघि तत्कालीन जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसपछि बालकृष्ण खाँण लगायत केही अभियुक्त उच्च अदालतबाट धरौटीमा छुटे भने केही अझै थुनामै रहेका छन् ।

यो मुद्दामा अघिल्ला दुई वर्ष प्राथमिकता नपाए पनि २०८२ सालको वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दा १० पटक साप्ताहिक र १६ पटक पूरक पेशी चढिसकेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले १० जेठ ०८० मा ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको अभियोगसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसयता यो प्रकरणमा पूरक मुद्दासहित ३१ जना प्रतिवादी बनेका छन् ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा प्रतिवादी बनाइएका मध्ये प्रमुख नाममा पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोरा सन्दीप रायमाझी, पूर्व गृहमन्त्री खाँण, तत्कालीन गृहसचिव पाण्डे, तत्कालीन सांसद शेर्पा, गृहमन्त्री थापाका छोरा प्रतीक थापा र सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितका व्यक्ति छन् ।

त्यस्तै, बिचौलिया केशव दुलाल, दुलालकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी, टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन र उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनीता सावदेन लिम्बु, सागर राई, आशिष र सुनिल बुढाथोकी, रामशरण केसी, सन्देश शर्मा, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालसमेत छन् ।