नयाँ पार्टी गठनको होडबाजीमा बालेन,हर्क र कुलमान,परम्परागत राजनीति दलहरूलाई फाइदा

काठमाडौं। स्वतन्त्र उम्मेदवारका रूपमा स्थानीय निर्वाचनमा सफल भएका व्यक्तित्वहरूले नयाँ राजनीतिक दल गठनको दिशामा अगाडि बढ्न थालेका छन्।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपाल विद्युत प्राधिकरणका पूर्वमहानिर्देशक कुलमान घिसिङले छुट्टाछुट्टै नयाँ राजनीतिक विकल्प निर्माणको तयारी गरिरहेका छन्।

सोमबार संघीय राजधानी काठमाडौं आइपुगेका मेयर हर्क साम्पाङ राईलाई उनका समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए। संगठन विस्तार र भेटघाटका लागि काठमाडौं आएका उनले मोटरसाइकल र्‍यालीसहित कालिकास्थानस्थित सांस्कृतिक संघमा पुगेर आफ्ना समर्थकहरूसँग भेटघाट मात्र गरेनन्, संगठनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरे।

राजनीतिक सर्कलमा चर्चामा रहेका यी व्यक्तित्वहरूको गतिविधिले आगामी कार्तिक १७ गते हुने रुपन्देही-३ को उपनिर्वाचनलाई केन्द्र बिन्दुमा पारेको छ। यो उपनिर्वाचन नयाँ राजनीतिक शक्तिहरूका लागि आफ्नो क्षमता मापनको पहिलो अवसर बन्न सक्ने देखिएको छ।

स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर पदमा विजयी भएका हर्कले आफ्नो राजनीतिक संगठनलाई व्यवस्थित बनाउने दिशामा काम थालेका छन्। उनको संगठनले रुपन्देहीको उपनिर्वाचनमा उम्मेदवारी दिने सम्भावना पनि बलियो देखिएको छ। स्वतन्त्र उम्मेदवारबाट सुरुवात गरेका हर्क अब संगठित राजनीतिमा प्रवेश गर्दै परम्परागत दलहरूको विकल्पका रूपमा उभिने तयारीमा छन्।

त्यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ बालेनले पनि नयाँ पार्टी गठनको तयारी गरिरहेको चर्चा तीव्र बनेको छ। स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयर पदमा निर्वाचित भएका बालेनले रुपन्देही-३ को उपनिर्वाचनलाई आफ्नो राजनीतिक शक्तिको परीक्षाको रूपमा हेरिरहेका छन्। उनका समर्थकहरूले विभिन्न सामाजिक सञ्जालमा नयाँ पार्टी गठनका लागि दबाब दिइरहेका छन्।

यसैबीच नेपाल विद्युत प्राधिकरणका पूर्वमहानिर्देशक कुलमान घिसिङले पनि नयाँ राजनीतिक दल खोल्ने तयारी गरिरहेको चर्चा उत्तिकै चुलिएको छ। विद्युत् क्षेत्रमा उनका कामहरूप्रति जनताको सकारात्मक धारणा र लोकप्रियताका कारण उनको राजनीतिक प्रवेशको चर्चा लामो समयदेखि चलिरहेको थियो।

यी तीनवटै व्यक्तित्वहरूको नयाँ पार्टी गठनको होडबाजीले नेपाली राजनीतिमा नयाँ समीकरण निर्माण गर्ने सम्भावना बढेको छ। स्वतन्त्र उम्मेदवारका रूपमा सफल भएका यी नेताहरूले जनताको बीचमा पुरानो राजनीतिक दलहरूको विकल्पको रूपमा आफूलाई स्थापना गर्न सक्लान त्याे भने समयले नै बताउने छ।  

यी तीनै जनाले छुट्टाछुट्टै नयाँ राजनीतिक दल खाेल्ने होडबाजीले परम्परागत दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले लगायतका दलहरूलाई हाइसन्चो हुने पक्का देखिएकाे छ। छुट्टाछुट्टै राजनीतिक दल खाेल्नु भन्दा पनि स्वतन्त्र भनिएकाहरूले मिलेर एक ठाउँमा आउन सके मात्र परम्परागत राजनीतिक दलहरूलाइ चुनाैती दिन सक्ने सम्भावना देखिन्छ।   

विशेषगरी रुपन्देही-३ को उपनिर्वाचनमा यदि यी नयाँ शक्तिहरूले राम्रो प्रदर्शन गरे भने आगामी निर्वाचनमा परम्परागत दलहरूको एकाधिकारमा चुनौती खडा हुने निश्चित छ।

रुपन्देही-३ को उपनिर्वाचन यी नयाँ राजनीतिक शक्तिहरूका लागि पहिलो परीक्षा बन्ने देखिएको छ।यो निर्वाचनको परिणामले नेपाली राजनीतिको भविष्यको दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।