वायुसेवा कम्पनीहरूले गरे सबै आन्तरिक उडान बन्द

फाइल तस्वीर

काठमाडौं। निजी वायुसेवा कम्पनीहरूले बुधवारदेखि सम्पूर्ण आन्तरिक उडान बन्द गरेका छन् । पछिल्लो दुई दिनदेखिको अस्थिर परिस्थिति र आन्दोलनका कारण यात्रुहरूलाई विमानस्थल आवतजावतमा कठिनाइ भएको भन्दै यो निर्णय लिइएको हो ।

वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र उडान सुचारु हुने बताएका छन् । सङ्घले सोमबार र मङ्गलवारको आन्दोलन र हिंसात्मक घटनाले यात्रुको सुरक्षित आवागमनमा बाधा पुगेको जनाएको छ।

‘विमानस्थल सञ्चालनमा आएलगत्तै हाम्रा सदस्य कम्पनीहरूले उडान नियमित गर्नेछन्,’ विज्ञप्तिमा उल्लेख छ। यात्रुहरूलाई सम्बन्धित वायुसेवासँग सम्पर्क गरी समयमै विमानस्थल पुग्न अनुरोध गरिएको छ। सङ्घमा बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर, एयर डाइनेस्टी, माउन्टेन हेली सर्भिसेस, प्रभु हेलिकप्टर्सलगायत कम्पनीहरू आबद्ध छन्।

सङ्घले केही उच्छृङ्खल व्यक्तिहरूले वायुसेवा कम्पनीका कार्यालयमा आगजनी गरेको घटनालाई निन्दनीय भन्दै यसको भर्त्सना गरेको छ। यस्ता गतिविधिले सेवा अवरुद्ध भएको र यात्रुको सुरक्षामा चुनौती थपिएको सङ्घको ठहर छ।