थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन्: बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले पुराना दलका नेताहरू नसच्चिने बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले पुराना पार्टीका नेताहरू नसच्चिने बताएका हुन् ।

उनले भने, ‘पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन् । कांग्रेस, एमाले, माओवादी सच्चिने म कुनै सम्भवना देख्दिन । टाउकोसम्म कुहिएर बसेको शक्तिको रूपान्तरण हुने सम्भावना म देख्दिन ।’

उनले नयाँ पुस्ताले विद्रोह गरेर फेरि नयाँ वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपने बताए ।उनले अहिले उदय भएका नयाँ राजनीतिक दल र राजनीतिक व्यक्तित्वहरू एक ठाउँमा आउने वातावरण बनाउनुपर्ने पनि बताए ।

‘उदय भएका राजनीतिक चेतसहितका युवाहरू हुनुहुन्छ । तपाईंहरू र हिजोदेखि हामी काम गर्दै आएका नयाँ शक्ति, विवेकशील पार्टी, रास्वपा, बालेन शाह, हर्क साम्पाङ र पछिल्लो समय आएका युवाहरू एक ठाउँमा आउने वातावारण तपाईंहरूले बनाउनुपर्छ,’ उनले भने ।

उनले एक ठाउँमा आउन नसके मोर्चासमेत बनाउन सक्ने उनको धारणा थियो । भट्टराईले बुधबार पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।