भ्रष्टाचारीलाई कडा कारबाही हुन्छ: मन्त्री घिसिङ
काठमाडौं। ऊर्जा,जलश्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नु आजको पुस्ताको प्रमुख माग रहेको बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा सम्बोधन गर्दै मन्त्री घिसिङले देशका बेथितिहरूको अन्त्य गरी समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिए। उनले युवापुस्ताको देशमै बसेर काम गर्ने वातावरण बनाउने चाहनालाई पूरा गर्न सुशासनको कार्यान्वयनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।
उनले कुनै पनि अनियमितता वा भ्रष्टाचारको संकेत देखिए तत्काल कडा कारबाही गरिने चेतावनी दिए। यस्ता गतिविधिहरू कायम रहेमा भविष्यमा ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने उनको भनाइ छ।
मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भएर लाग्न कर्मचारीहरूलाई निर्देशन दिए। कुनै पनि अनियमितता वा भ्रष्टाचारमा संलग्न भएको पाइएमा तत्काल कारबाही हुने उनले स्पष्ट पारे।
