प्रधानमन्त्री कार्कीले दसैँको टीका-जमरा नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा युवाले ज्यान गुमाउनुपरेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै यस वर्ष आफूले टीकाजमरा नलगाउने र नागरिकलाई समेत टीका नलाउने भएकी छन् ।

 बडादसैँ २०८२ को अवसरमा प्रधानमन्त्रीको स्वकीय सचिवालयमार्फत जारी सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति शुभकामना व्यक्त गर्दै आफूले टीका नलगाउने र नलगाइदिने निर्णय भएको जनाइएको छ ।

प्रधानमन्त्री कार्कीले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा प्रगतिका लागि शुभेच्छा दिँदै बडादसैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन सहयोग पुर्‍याओस् भन्ने अपेक्षा व्यक्त गरेकी छिन् ।

दुर्गा भवानीले राष्ट्रलाई शक्ति प्रदान गरून् भन्ने कामना गर्दै उनले मुलुकमा स्थायित्व, शान्ति, सुशासन र समृद्धिको यात्रामा सबैलाई सहभागी भई देश विकासमा जुट्न हार्दिक अपिलसमेत गरेकी छिन्।