काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी किनारका सडक (करिडोर सडक) मा साँझ ६:०० देखि बिहान ६:०० बजेसम्म सवारी आवागमन रोक्न आग्रह गरेको छ ।
प्राधिकरणले आज जारी गरेको सूचनामा काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा भइरहेको उल्लेख गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो आग्रह गरेको हो ।
राति वर्षाको मात्रा थप बढ्ने र नदी तथा खोलामा पानीको सतह उकालो लाग्ने सम्भावना रहेकोले करिडर सडकहरू डुबानमा पर्न सक्ने र जोखिम बढ्ने प्राधिकरणले जनाएको छ ।
‘सम्भावित जोखिम न्यूनीकरणका लागि काठमाडौँ उपत्यकाका नदी किनारका सडकमा आज साँझ ६:०० देखि भोलि बिहान ६:०० बजेसम्म सवारी आवागमनमा आवश्यकता अनुसार रोक लगाउन अनुरोध छ,’ प्राधिकरणको सूचनामा भनिएको छ।

