गोरखामा हिमपात, मनास्लु क्षेत्रमा पर्यटक प्रभावित

फाइल तस्बिर

काठमाडौं । उत्तरी गोरखाका विभिन्न गाउँहरुमा पानी परेसँगै हिमपात भएको छ । गए रातिदेखि चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा हिमपात भइरहेको हो ।

हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका ७ का पासाङफुञ्जो लामाले जानकारी दिए । सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङदुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायतका गाउँ हिउँले ढाकिएका छन् ।

त्यस्तै वडा नं. १ को सामागाउँ, साम्दो, वडा नं.२ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन्। स्थानीयहरुका अनुसार ५१०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटकहरु सामागाउँ, साम्दोमै रोकिएका छन्।