जेनजी पुस्ताको जागरणले देशमा नयाँ राजनीतिक चेतना ल्यायो: संयोजक गजुरेल
काठमाडौं। साम्राज्यवाद, प्रतिगमन र यथास्थितिवादविरुद्ध संयुक्त विरोध कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। “साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको प्रतिरोध गरौं, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एकजुट होऔं” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै समाजवादी कम्युनिस्ट पार्टीका संयोजक हरिकृष्ण गजुरेलले नेपाललाई विदेशी शक्तिहरूले आफ्नो प्रभाव क्षेत्रमा तान्ने षड्यन्त्र चलाइरहेको दाबी गर्दै, अब सबै कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिहरू एकताबद्ध भएर संघर्षको मैदानमा उत्रनुपर्ने बेला आएको बताए। उनले भने,नेपाललाई विदेशीहरूले रणमैदान बनाउन खोजिरहेका छन्, त्यस अवस्थाबाट देशलाई जोगाउन सचेत, राष्ट्रप्रेमी शक्तिहरूले दृढ प्रतिरोध गर्न जरुरी छ।
गजुरेलले देशमा उत्पन्न राजनीतिक अस्थिरता र जनजीविकामा आएको संकटका लागि दलाल संसदीय दलहरू जिम्मेवार रहेको आरोप लगाए। उहाँका अनुसार विदेशी स्वार्थका एजेन्ट बनेर काम गर्ने ती दलहरूकै कारण देश स्वाधीन हुन नसके बताए। उनले थपे, अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार दलाल पुँजीवादले नेपालका दलाल नेताहरूलाई संचालन गरिरहेको छ, त्यसैले अब देश बचाउने आन्दोलन अपरिहार्य भएको छ।
संयोजक गजुरेलले वर्तमान संसदीय व्यवस्थालाई दलाल र जनविरोधी ठहर गर्दै, त्यसलाई फालेर राष्ट्रिय स्वाधीन सरकार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। उहाँले नेपाली जनतालाई जनताको शासन स्थापना गर्ने दिशामा संगठित रूपमा अघि बढ्न आग्रह गर्दै जनचेतना र राजनीतिक एकताको आव्हान गरे।
त्यस्तै उनले नयाँ पुस्ता, विशेषगरी जेनजी पुस्ताले सुरू गरेको जागरण र आन्दोलनलाई हल्का रूपमा नलिन सबैलाई चेतावनी दिए। गजुरेलका अनुसार नयाँ पुस्ताको चेतना परिवर्तनको संकेत हो र त्यसले नेपालमा नयाँ राजनीतिक युगको शुरुवात गर्ने जिकिर गरे।
कार्यक्रमका सहभागीहरूले साम्राज्यवाद, प्रतिगमन र विदेशी हस्तक्षेपविरुद्ध नारा लगाउँदै देशको सार्वभौमसत्ता र स्वाभिमान रक्षा गर्न दृढ प्रतिवद्धता जनाएका थिए। विरोध कार्यक्रममा विभिन्न राजनीतिक समूहहरूको सहभागिता पनि देखिएको थियो।
संयोजक गजुरेलले राष्ट्रिय स्वाधीनता, जनसरोकार र समानतामूलक समाज निर्माणका लागि दीर्घकालीन राजनीतिक आन्दोलन अपरिहार्य भएको दोहोर्याउँदै जनताको जागरण र संगठन नै अबको प्रमुख कार्यसूची बन्नुपर्ने बताए।
