आइजीपी बन्ने होडमा एआईजी केसीको विवादास्पद लबिङ,प्रहरी प्रमुखको मुख्य दावेदारमा कार्की

काठमाडौं। नेपाल प्रहरीको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनुअघि नै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसी फेरि एकपटक विवादको केन्द्रबिन्दुमा आएका छन्। ३३औं प्रहरी महानिरीक्षक (आइजीपी) बन्ने आकांक्षामा उनले सिंहदरबारसम्म तीव्र लबिङमा जुट्नु र राजनीतिक पहुँच बनाउने प्रयासले प्रहरी संगठनभित्र व्यापक आलोचना सृजना गरेको छ।

एआईजी केसी हाल उच्चस्तरीय राजनीतिक पहुँच बनाउन केही नेता र पूर्वप्रहरी अधिकारीहरूको माध्यमबाट प्रधानमन्त्री र गृहमन्त्रीसम्म पुग्ने प्रयासमा निरन्तर सक्रिय देखिएका छन्। नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनुभन्दा अघि नै नेताहरूको घरमा मध्यरातसम्म भेटघाट गर्ने र प्रधानमन्त्रीसम्म सन्देशवाहकहरू पठाउने कार्यमा व्यस्त रहेको स्रोतको दाबी छ।

यस्तो शैलीले प्रहरी संगठनभित्र गम्भीर असन्तुष्टि र चिन्ता बढाएको छ। एक वरिष्ठ प्रहरी अधिकृतका अनुसार योग्यता र इमानदार सेवाभावको आधारमा नभइ राजनीतिक पहुँच र गुटगत राजनीतिका आधारमा आइजीपी पद कब्जा गर्ने प्रयासले संगठनको मर्यादामाथि नै प्रश्न खडा भएको छ। प्रहरी संगठनभित्रै केसीको नाम गुटबन्दी,अनावश्यक राजनीतिक चलखेल र अनुशासनहीन प्रवृत्तिसँग जोडिँदै आएको छ।

एआईजी केसीको करिअरमा यस्ता विवादहरू नयाँ होइनन्। फिल्डमा काम गर्दा गुटगत निर्णय लिने र आन्तरिक प्रतिद्वन्द्वीहरूलाई कमजोर पार्ने शैलीका कारण उनी बारम्बार प्रहरीभित्रै आलोचित बन्दै आएका पात्र हुन। केही समयअघि आफ्नो व्यक्तिगत स्वार्थका लागि संवेदनशील कागजात चुहाएको आरोप पनि उनको नाममाथि लागेको थियो, जसले संगठनभित्र उनको विश्वसनीयतामा ठूलो धक्का पुर्‍याएको छ।

हालको आइजीपी प्रतिस्पर्धामा पनि केसीले मिडियाको माध्यमबाट आफ्ना प्रतिद्वन्द्वीहरूको चरित्र हत्या गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ। यस्तो व्यवहारप्रति प्रहरीभित्र असन्तुष्ट खुलेर देखा पर्न थालेको छ। धेरै अधिकारीहरूले केसीलाई आफ्नो पदका लागि संगठनलाई नै दाउमा राख्न पछि नहट्ने व्यक्तिका रूपमा हेर्न थालेका छन्।

एक डीआइजीले भने,नेतृत्वमा जानु राम्रो कुरा हो, तर त्यसका लागि अनुशासन भुलेर लबिङ र चाकडीको बाटो लिनु प्रहरीको आत्मसम्मानमाथि प्रहार हुनु हो।

नेपाल प्रहरीमा आगामी ३३औं आइजीपीको दौड रोमाञ्चक बन्दै गइरहेको छ, तर त्यही दौडभित्र एआईजी मनोज केसीको शैलीले प्रहरीको व्यावसायिक छवि धुमिल बनाएको छ। उनको वर्तमान सक्रियता संगठनको हितभन्दा व्यक्तिगत महत्वाकांक्षामा मात्र केन्द्रित देखिएको छ, जसले प्रहरीभित्र केसी शैलीको नेतृत्व कस्तो होला भन्ने गम्भीर प्रश्न उठाएको छ।