ओलीले निर्वाचन भाँड्न नाटक गरिरहेका छन्: प्रभु साह
काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको निर्वाचन भाँड्न नयाँ–नयाँ नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। उनले निर्वाचन रोक्ने कुनै पनि षड्यन्त्रको जनस्तरबाटै प्रतिवाद गरिनुपर्ने बताए।
शनिवार काठमाडौंमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै साहले ओलीले आफ्ना नेताहरूलाई ‘प्रतिनिधिसभा पुनर्स्थापना’ को नाममा हस्ताक्षर अभियान चलाउन लगाएर निर्वाचनबाट भाग्ने प्रयास गरेको दाबी गरे।
निर्वाचनबाट भाग्ने छुट कसैलाई छैन, उनले चेतावनी दिए। जेनजी आन्दोलनमा युवाहरूमाथि चरम दमन गर्ने, छाती र टाउकोमा गोली ठोक्नेहरू नै आज निर्वाचन रोक्न अग्रसर भएको उनको भनाइ छ।
‘ओलीको दम्भ र अहङ्कार युवाहरूको बलमा जनताले धुलो चटाइसकेका छन्, त्यसैले एमाले निर्वाचन सामना गर्न डराएको हो,’ साहले भने । उनले जेनजी युवाको हत्यामा संलग्नहरूलाई कारबाही नगरी सरकार र हत्याराहरूबीच नेक्सस देखिएको आरोप लगाए । गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै उनले भने, ‘पूर्वराष्ट्रपतिका जलेका घर हेरेर फोटो खिचाएर सस्तो लोकप्रियता कमाउनुभन्दा जेनजी हत्यारालाई तत्काल कारबाही गर्नुस् ।
