शिक्षामन्त्रीलाई सुत्ने बेला संविधान पढ्न शिक्षक महासङ्घको सुझाव

काठमाडौं। शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबार शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीति नगर्न र सङ्घलाई गैरराजनीतिक बनाउन दिएको निर्देशन प्रति असन्तुष्टि जनाएको छ। शिक्षकहरूले मन्त्री पुनको निर्देशन संविधान विपरीत भएको भन्दै आपत्ति जनाएका हुन्।

मन्त्रीज्यूले शिक्षा ऐन, नियमावली र संविधान नपढेको देखिन्छ। बेलुका सुत्ने बेला संविधानको धारा ३४ पढ्नु पर्‍यो। श्रम ऐन पढ्नु पर्‍यो,नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।

मन्त्रीको ध्यानकर्षणले शिक्षक र मन्त्रालयबीच द्वन्द्व बढ्ने सुवेदीको बुझाइ छ। ‘शिक्षक समुदाय र मन्त्रालयबीच द्वन्द्व निर्माण गर्ने दिशातिर जान्छ,’ उनले भने, ‘मन्त्री हुने मान्छेले संविधानको ज्ञान राख्नु पर्‍यो।

संविधानको धारा ३४ मा श्रमको हक हुने भनिएको छ। उक्त धाराको उपधारा ३ मा प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुने भनिएको छ। संविधान अनुसार नै शिक्षक सङ्घ९सङ्गठन बनेको सुवेदीको दाबी रहेको छ।

‘संस्थाहरू श्रम ऐन अनुसार दर्ता भएका छन्। ती संस्थालाई अवैधानिक भन्ने अधिकार कसैलाई छैन। सबै संस्था वैधानिक हो,’ अध्यक्ष सुवेदीले भने। शिक्षक कर्मचारी राजनीतिमा लागेको पाइएमा कारबाही गर्ने चेतावनी मन्त्री पुनले दिएका छन्।

शिक्षक महासङ्घका अध्यक्ष सुवेदी संस्थाहरू दलको भ्रातृ संस्था नरहेको बताए। संस्थामा भएका सदस्यले आस्था राख्न सक्छन्। तर, शिक्षक सङ्घ९सङ्गठन दलको भ्रातृ संस्था होइन,अध्यक्ष सुवेदीले भने, कोही कसैले कानुन विपरीत गर्छ भने त्यो व्यक्तिको कुरा हो। व्यक्ति र संस्था अलग हो। कुनै शिक्षकले आचारसंहिता विपरीत काम गर्छ भने त्यही अनुसार कुरा गर्नुपर्‍यो।