विशेष महाधिवेशनबाट कांग्रेस पछि हट्दैन: विश्वप्रकाश शर्मा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागबाट पार्टी पछि हट्न नसक्ने स्पष्ट पारेका छन् । मङ्गलवार उदयपुरको गाईघाटमा आगजनीमा परेको पार्टी कार्यालयको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशेष महाधिवेशनको ‘ब्याक गियर’ नहुने बताए ।
उनले भने, ‘कांग्रेस विधानमा विशेष महाधिवेशन आह्वान गर्ने प्रावधान छ, तर त्यसलाई फिर्ता लिने कुनै व्यवस्था छैन। त्यसैले अब ९० दिनभित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्छ। यदि सोही अवधिमा १५औँ नियमित महाधिवेशन गर्ने लिखित सहमति भयो भने मात्र विशेष महाधिवेशनको माग स्वतः सम्बोधन हुन्छ।
महामन्त्री शर्माले अब बल सभापति शेरबहादुर देउवाको कोर्टमा रहेको बताए । ‘दुई महामन्त्रीले के भन्छन् वा केन्द्रीय सदस्यहरूको सङ्ख्या कति छ भन्ने कुरा अब गौण भयो । असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले लिखित वक्तव्यमार्फत देखाउनुभएको संयम, समन्वय र परिपक्वताको सन्देशलाई उहाँ आफैँले कायम राख्नुहुन्छ कि राख्नुहुन्न, यही मुख्य प्रश्न हो,’ उनले भने ।असोज २८ को वक्तव्यमा “मङ्सिरमा महाधिवेशन” भन्ने वाक्यांश छुटेको विषय गम्भीर गल्ती भएको उनको भनाइ छ।
‘त्यो छुट्नु नै गल्ती थियो भन्ने प्रमाणित भइसकेको छ। अब पार्टी र देशको वर्तमान सङ्कटको समाधानका लागि सभापतिज्यूले निर्णायक र सकारात्मक पहलकदमी लिनुपर्छ। उहाँको सक्रिय हस्तक्षेपले मात्र कांग्रेसलाई निकास दिन सक्छ,’ शर्माले भने।
