प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिँदै
काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन दलहरुलाई दल दर्ताका लागि दिएको समय आज सकिँदैछ।
उक्त चुनावमा भाग लिन चाहने राजनीतिक पार्टीले आज कार्यालय समयभित्र दल दर्ता गराइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन यही मंसिर १ देखि आजसम्मको समय दिएको थियो।
आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि मंलबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत ८० वटा दलले दल दर्ता गराएका छन्।
आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूबारे मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत नामावली प्रकाशन गर्नेछ।
