दुई वर्षभित्र सम्पन्न गर्न एकैपटक ३९६ अस्पतालको निर्माण सुरु, हालसम्म ७८ वटा मात्र सम्पन्न

काठमाडौं। आधारभूत अस्पताल पाँच वर्षमा बल्ल ७८ वटा निर्माण सम्पन्न भएर कार्यान्वयनमा आएका छन्। दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने लक्ष्य लिएर १५ मंसिर २०७७ मा एकैपटक निर्माण सुरु गरिएका ३९६ अस्पतालमा हालसम्म जम्मा ७८ वटा सम्पन्न भएर सञ्चालनमा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलका अनुसार ७८ वटा अस्पतालहरू बनेपछि हालसम्म देशभर ५ देखि १५ बेड क्षमताका आधारभूत अस्पतालको संख्या ४१३ वटा सञ्चालनमा आएका छन्।

तीमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै १३६ अस्पताल रहेका छन्। त्यसपछि कोशीमा ११२, लुम्बिनीमा ४२, सुदूरपश्चिममा ३३, कर्णालीमा २८, मधेशमा ४१ र गण्डकी प्रदेशमा २१ आधारभूत अस्पताल रहेका छन्।

सरकारले सबै स्थानीय तहमा ५, १० र १५ बेडमा आधारभूत अस्पताल सञ्चालन गर्ने लक्ष्य सहित ती अस्पतालको निर्माण सुरु गरेको थियो।

हालै मात्र सम्पन्न भएको स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८१।८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षामा पेश गरिएको प्रगति विवरणमा लक्ष्यअनुसार आधारभूत अस्पतालहरू सञ्चालन गर्न ढिलो भइरहेका वेला भने देशमा अन्य खालका अस्पतालको संख्या भने बढेको पाइएको छ।

२५ देखि ५० बेड क्षमताका सामान्य अस्पतालको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। २५ देखि ५० बेड क्षमताका सामान्य अस्पतालको संख्या देशभर ३०५ पुगेको छ।

यी खालका अस्पताल बागमती प्रदेश ७२ अस्पतालसहित पहिलो स्थानमा छ भने गण्डकीमा ५६, मधेशमा ५३, लुम्बिनीमा ४९, कोशीमा ४३ अस्पताल रहेका छन् । कर्णालीमा १४ र सुदूरपश्चिममा १८ सामान्य अस्पताल मात्र रहेको पाइएको छ। मन्त्रालयको यो विवरण हेर्दा अझै पनि दुर्गम क्षेत्रमा आवश्यक स्वास्थ्य संस्थाको संख्या कमी नै देखिन्छ।

तर विशिष्टिकृत स्वास्थ्य सेवा दिने १०० देखि ३०० बेड क्षमताका अस्पतालको संख्या देशभर ७२ पुगेको छ। १०० देखि ३०० बेड क्षमताका ठूला अस्पताल पनि बाग्मती प्रदेशमै धेरै रहेको पाइएको छ। बागती प्रदेशमा यी खालका अस्पताल २५ वटा छन्। मधेशमा १५, लुम्बिनीमा १२, गण्डकीमा ९ र कोशीमा ७ रहेका छन्। कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा १ मात्र यस्तो अस्पताल रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

देश संघयीतामा गइसकेको अवस्थामा पनि विशिष्टीकृत सेवा दिने ठूला अस्पताल भने अझै पनि काठमाडौं बाहिर कम सञ्चालनमा रहेको छन्।