पोखरामा आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान
काठमाडौं । जेनजी आन्दोलनका क्रममा व्यक्तिका घरमा आगजनी र तोडफोड गर्ने रास्वपाका नेतासहित चार जना कारागार चलान भएका छन् ।
आन्दोलनका क्रममा पोखरा मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोड गरेको किटानी जाहेरीका आधारमा पक्राउ परेका रास्वपा पोखरा १० का सभापति चन्द्रबहादुर थापासहित चार जनालाई जिल्ला अदालत कास्कीले थुनामा पठाउने आदेश दिएको हो।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा थापासहित बिना मल्ल भनिने विमला सापकोटा, चिनबहादुर खवासलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
सोही घटनामा अर्का एक नाबालकलाई पनि पुर्पक्षका लागि सुधार गृह पठाइएको कास्की प्रहरीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए। घटनामा संलग्नताको आधारमा पक्राउ परेका चन्द्रका भाइ हरिबहादुर थापालाई भने २ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ।
आन्दोलनको दोस्रो दिन उनीहरुले सरकारी सम्पत्तिसँगै मेयर आचार्यको घरमा आगजनी र तोडफोड गर्दै गरेको फोटो, भिडियो सार्वजनिक भएका थिए। आगजनी र तोडफोडको भिडियो र फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रास्वपाले थापालाई पक्राउ पर्नुअघि नै निलम्बन गरेको थियो।
उनीसँगै मादी ६ का सभापति भोजराज पौडेल पनि निलम्बनमा परेका छन्। आन्दोलनको मौका छोपेर सरकारी र निजी सम्पत्तिमाथि क्षति पु¥याउनेलाई कास्की प्रहरीले धमाधम पक्राउ गरिरहेको छ।
