देश लुट्यो भनेर नेताहरुले पहिले राजालाई लखेटे,सरकारी सम्पत्ति बेचेर खाएपछि अहिले तिनकै जग्गामा गर्दैछन् कार्यक्रम
अनुसा थापा
राजनीतिक दलहरुले २०४६ साल अघि र पछि नै राजतन्त्रको विरोध गरे । राजाले नेपाली पैसा लगेर विदेशमा लुकाए, देशमा विकास गरेन, जनतालाई हेरेन भनेर राजनीतिक दलहरुले पटकपटक आफ्ना कार्यकर्ता सडकमा उतारे । देशबाट राजतन्त्र हटाउनका लागि माओवादीले २०५२ फागुन १ गते हतियार उठायो ।
१० वर्षे जनआन्दोलनको क्रममा १७ हजार नेपालीको ज्यान गयो । हजारौं घाइते, अपांग र बेपत्ता भए भने खर्बौंको सम्पत्ति तहसनहस भयो । २०६५ जेठ १५ गते सदनबाट दुई तिहाई सांसदले राजतन्त्रको अन्त्य गरे, मुलुकमा लोकतन्त्र गणतन्त्रको स्थापना भयो । राजपरिवारको सबै सम्पत्ति नेपाल ट्रष्टको कार्यालयको नाममा ल्याएर संरक्षण गर्ने भनियो ।
ट्रष्टको नाममा धेरै राजाको सम्पत्ति ल्याइयो । तर, त्यो सम्पत्तिको सदुपयोग होइन, दुरुपयोग भयो । राजाको सम्पत्तिमा राजनीतिक दलका कार्यकर्ताको मोजमस्ती चल्यो । राजनीतिक दलले गुन्द्रुकको भाउमा ट्रष्टको जग्गा आफ्ना कार्यकर्तालाई लिजमा दिए । कतिपय त दर्ता नै गरेर लगिएको छ ।
ट्रष्टको ऐनमा स्पष्ट रुपमा राजपरिवारको सम्पत्ति राष्ट्र र जनताको हितको लागि प्रयोग गरिने उल्लेख छ । यद्यपि, त्यो सम्पत्ति राजनीतिक दल र तिनका कार्यकर्ताले व्यक्तिगत हितको लागि प्रयोग गरिरहेको अवस्था छ । जसको एउटा उदाहरण हो, नेपाल मजदूर किसान पार्टी ।
२०८१ फागुन १६ देखि १९ गतेसम्म नेमकिपाले भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा महाधिवेशनको आयोजना गर्यो । आगामी मंसिर २७ देखि २९ गतेसम्म एमालेले यहीँ आफ्नो ११ औं महाधिवेशन गर्दैछ । रोचक प्रसंग के भने, यो जग्गा ट्रष्टको हो । ट्रष्टले संरक्षणमा चासो नदेखाउँदा जसलाई मनलाग्यो, त्यसले कार्यक्रम गर्ने, हडप्ने काम भइरहेको छ ।
राजा महेन्द्रले विसं २०२४ सालमा आफ्नो कान्छो छोराका लागि प्रति रोपनी एक हजार रुपैयाँमा सो जग्गा खरिद गरेका छन् । १०८ रोपनी दुई आना एक दाम जग्गा खरिद गरेकोमा अहिले बढीमा ६० देखि ६५ आना बाँकी छ । अरु जग्गा व्यक्तिको नाममा गइसकेको छ ।
राजनीतिक दलले सामान्ती भनेको राजपरिवारले सत्ता पनि छोडे, आफ्नो सम्पत्ति पनि । तर, नेताहरुले के गरे ? नेताहरुले खान नपाएर आन्दोलन गरेका रहेछन् भन्ने त प्रमाणित भइसकेको छ । राजाले देश लुट्यो भनेर आन्दोलन गरेका नेताहरुले केही बाँकी छोडेनन् ।
सार्वजनिक, गुठी, ऐलानी, हदबन्दीभन्दा बढी, तालतलैया, मठमन्दिरलगायतको जग्गा त खाए नै, सँगै नेपालको भूभागसमेत बेचे ।
नदीनाला विदेशीलाई सुम्पिए । जनताले तिरेको कर, वैदेशिक ऋण र रेमिट्यान्समा दर मारे।
नेताहरुले गरेको भनेकै सरकारी सम्पत्ति लुट्ने, देश धितो राखेर वैदेशिक ऋण ल्याएर खाने । नेताहरु आएर देशमा के परिवर्तन भयो ? जनतालाई अहिले आएर गणतन्त्रभन्दा राजतन्त्र नै ठीक थियो भन्न लाग्न थालिसकेको छ ।
पहिले एउटा राजा थिए, अहिले हजारौं छोटे राजा छन् । जसले देश लुछिलुछि खाए । राजाले दरबार छोडेको डेढ दशक भइसकेको छ, तर देशमा के परिवर्तन भयो ? जनताले सोचेकोजस्तो नेपाल बन्यो ? सरकारी सम्पत्ति बेचेर खाइसकेपछि नेताहरु कार्यक्रम गर्नका लागि राजाले किनेको जमिनमा पुगेका छन् ।
यिनीहरुलाई अलिकति पनि लाज लाग्दैन ? २०४६ सालअघि नेपालमा धेरै सरकारी जग्गा थियो । गुठी, ऐलानी, सार्वजनिक, हदबन्दीभन्दा बढीको जग्गा व्यक्तिको नाममा गइसकेको छ । त्यसको उदाहरण खोज्न टाढा जानुपर्दैन । भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित आर्मी ब्यारेक दायाँबायाँ, चंगा गणेश, दुवाकोट जाने टेम्पो पार्क, हनुमन्ते खोला वरपर, सिर्जनानगर, राधेराधेको सरकारी जग्गा व्यक्तिको नाममा गएको छ ।
नेपालभित्रको जग्गा त आफ्नो कार्यकर्ताको नाममा लगिहाले, नेपाल पनि बेचे । नेपालको धेरै भूभाग भारतले लगेको छ । ती जमिन बेच्ने नेता हुन् भन्नेमा दुईमत छैन । अहिले विदेशी ऋण २९ खर्ब ४२ अर्ब पुगिसकेको छ । जनताले तिरेको कर त झ्वाम्म पारे, विदेशी ऋणसमेत ल्याएर खाए ।
देशलाई कंगाल बनाएर छाडे नेताहरुले । अझैपनि कहीँकतैबाट लुट्न पाउँछौ कि भनेर दाउ हेरिरहेका छन् । जे भएपनि राजतन्त्रमा सरकारी र सार्वजनिक जग्गा जोगिएको थियो । राजाले नेपालमा विदेशी हस्ताक्षेप हुन रोकेका थिए । नेपालको भूमि संरक्षण गरेका थिए । जनता भोको र नाङ्गो भएपनि वैदेशिक ऋण लिइएको थिएन ।
जनता विदेशमा बेचेका थिएनन् । जनताहरुले आफैंले दुःख गरेर खाइरहेका थिए । देशमा उद्योगहरु थिए । नेपाल आफ्नै उब्जनीमा निर्भर थियो। राजाले देश जोगायो, देश बेच्न पाइएन, विदेशी ऋण ल्याएर देश बेच्न पाइएन भनेर नेताहरुले जनता उचाले । जनता पनि होला भन्ठानेर सडकमा आए ।
अहिले देश नै सकिएपछि जनताले पश्ताचाप मानिरहेका छन् । नेताहरुले देशको लागि होइन, आफ्नो व्यक्तिगत स्वार्थको लागि लडेका थिए भनेर जनताले बुझ्दै गएका छन् । नेताहरुकै आज देश खरानी बन्यो । नेताहरुकै कारण गत भदौ २३ र २४ गतेको आन्दोलन भयो ।
जनताले अझै कतिपटक देश खरानी भएको देख्नुपर्ने हो ? जनतामा अब सचेतना आउन आवश्यक छ । यी नेताले यत्रो वर्षसम्म के गरे ? जनताले छर्लङ्ग देखिसकेका छन् । जनताले अब यी राजनीतिक दलको विरोध गर्न थाल्नुपर्छ । देशभन्दा ठूलो राजनीतिक दलको सदस्यता होइन ।
देश भए, हामी रहने हो भन्ने कुरा जनताले बुझ्न जरुरी छ । आफ्नो सन्तानलाई भेडाबाख्राझैं बेचेको, देशलाई खोक्रो बनाएर नेताका सन्तानले मोजमस्ती गरेको, आफू सिटामोलका लागि तड्पिरहँदा नेताहरु उपचारका लागि विदेश पुगेको जनताले स्मरण गर्न आवश्यक छ ।
यी नेतालाई अब जनताले सही ठाउँ देखाउनुपर्छ । नेता हुनका लागि त्याग गर्न सक्नुपर्छ । पढेको, अनुभुवी, देश बनाएर छोड्छु भन्ने भावना भएको व्यक्ति नेता हुनुपर्ने हो । तर, यहाँ त महेश बस्नेतजस्तो हप्ता उठाउने व्यक्ति नेता बनेर हिँडेका छन् । जेनजीले त्यत्रो आन्दोलन गरे, झण्डै ८० जनाको निधन भएको छ ।
हजारौं घाइते भएका छन् । सरकारी सम्पत्तिमा ८० खर्बको क्षति भयो । निजी सम्पत्तिमा पनि उत्तिकै क्षति पुग्यो । तैपनि, केपी शर्मा ओली र पुष्पकमल दाहाल पद छोड्न तयार छैनन् । यिनीहरुभन्दा त राजामा नै नैतिकता रहेछ । राजाले एक जना नमारिकन दरबार छोडेर हिँडे ।
उनको हातमा सेना थिए । उनले चाहेको भए, जनतामाथि गोली चलाउने आदेश दिन सक्थे । तर, उनले त्यसो गरेनन् । सरक्क राजदरबार छोडे, नागार्जुनको जंगलमा गएर बसे । अब भनौं, देशको माया राजालाई रहेछ कि केपी र प्रचण्डलाई । ८० जनाको ज्यान त केपी र प्रचण्डलाई खसीबोकाको ज्यानजस्तै भएको छ ।
उनीहरुलाई अलिकति पनि अफसोस छैन । न हीनताबोध नै महसुश गरेका छन् । जनतासँग माफी माग्नुको साटो यिनीहरु अझै मै राजा हो जसरी हिँडिरहेका छन् । नेताहरुले राजाविरुद्ध भ्रम मात्र फैलाएको भन्ने पुष्टि भइसकेको छ । नत्र विदेशमा भएको राजाको पैसा खोजेर ल्याउथे होला नि त ।
भए पो ल्याउथें ? आफू सत्तामा जानका लागि मात्र नेताहरुले राजामाथि हिलो छ्यापेका थिए । जुन अहिले प्रमाणित हुँदै गएको छ । भूपू राजा ज्ञानेन्द्र कतै जानुपर्यो भने नागरिकजसरी हिँड्छन् । केपी र प्रचण्ड पुरै गुण्डाको घेराउमा हिँड्छन् । कसले गलत काम गरेको रहेछ, यसबाटै पुष्टि हुन्छ ।
