नेपाली सेनाले १० करोड डलर गुमाउने, ६ वटा होलिकोप्टर लिने
काठमाडौं । दुई सातामा अमेरिकीउच्च भ्रमण भैरहेको बेला अमेरिकी सरकारले दिने भनेको १० करोड अमेरिकी डलर बराबरको सैन्य अनुदान भने गुम्ने खतरा बढेको छ । उता १३ अर्ब बराबरको अमेरिक हेलिकोप्टर भने लिने तयारी गरेको छ ।
अमेरिकी सरकारले क्षमता अभिवृद्धि र विपद् व्यवस्थापनलगायतलाई भन्दै नेपाली सेनालाई १० करोड अमेरिकी डलर दिने निर्णयमा नेपाली सेनाले समयमा निर्णय नगर्दा गुम्ने खतरा बढेको हो भने विपद उद्दारका लागि भने हेलिकोप्टर लिने भएको स्रोतले बताएको छ। अमेरिकी अधिकारीहरूले सैन्य सहयोग ऋण नभएको र फिर्ता गर्ने दायित्वसमेत नभएको जनाएपनि सेनाले निर्णय गरेको छैन।
नेपाली सेना र अमेरिकी अधिकारीबीच त्यसको कार्यान्वयन र व्यवस्थापनको पक्षमा पटक–पटक छलफल भएको थियो । तर, अहिले नेपाली सेनाले तदारुकता नदेखाउँदा उक्त सैन्य सहयोगमा अन्यौल उत्पन्न भएको छ ।
नेपाली सेनाको हवाई क्षमता अभिवृद्धि गर्ने भनिए बमोजिम अमेरिकाले केही महिनाअघि नेपाली सेनालाई एयर एम्बुलेन्स र स्काई ट्रक दिइसकेको छ । अमेरिकाले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न दिएको सहयोग स्वीकार्ने वा नस्वीकार्ने भन्ने विषयमा चाँडो निर्णय लिन आग्रह गरेको छ ।
सरकारले निर्णय लिन विलम्ब गरिरहे यो अवसर गुम्नसक्ने बताइएको छ । निर्णय कार्यान्वयनमा हुने ढिलाइले नेपाल र नेपालीहरूको हित गर्न नसक्ने बताइएपनि सेनाले कुनै जवाफ फर्काएको छैन ।
स्रोतका अनुसार, नेपाली सेना र अमेरिकी अधिकारीहरूबीच उक्त अनुदान स्वीकार्ने गरी धेरै पटक छलफल भइसकेको भएपनि यो विषयलाई सरकारी पक्षले बाहिर ल्याउन चाहेको छैन ।
रक्षा मन्त्रालय स्रोतका अनुसार, नेपाली सेनाले स्पष्ट छलफल र सहयोग ग्रहणका लागि तदारुकता नदेखाउँदा अमेरिकी सहयोग कार्यान्वयनमा नआएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, सरकार अहिले यति ठूलो संख्या र मूल्यमा हेलिकोप्टर खरिद गर्ने अवस्थामा छैन।
अमेरिकी अधिकारीहरूले भने कार्यान्वयनमा धेरै ढिला गर्ने भए उक्त सहयोग अन्य मुलुकमा डाइभर्ट हुनसक्ने रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकारीहरूलाई जानकारी गराइसकेका छन् ।
स्रोतका अनुसार उक्त अमेरिकी अनुदानबाट अमेरिकाले नेपाललाई ६ वटा हेलिकोप्टर दिने तयारी गरेको र जंगी अड्डाले समेत त्यसमा स्वीकृति जनाएको स्रोतले बताएको छ ।
नेपाली सेना विस्तृत अध्ययन र मूल्यांकनपछि बेल हेलिकोप्टर कम्पनीबाट दुई ठूला र चार साना गरी जम्मा छ वटा हेलिकोप्टर उक्त सैन्य अनुदानबाट लिने निष्कर्षमा पुगेको थियो । अमेरिकी सहयोगबाट प्राप्त हेलिकोप्टर विपद व्यवस्थापन, डढेलो नियन्त्रण, गर्भवती तथा बिरामीको आकस्मिक उद्धारमा प्रयोग गर्ने नेपाली सेनाको तयारी हो ।
हाल नेपाली सेनासँग पर्याप्त उद्धार क्षमतायुक्त हेलिकोप्टरको अभाव छ । सीमित साधनस्रोतकै भरमा नेपाली सेनाले काम चलाइरहेको छ, जुन पर्याप्त नभएको सैनिक अधिकारीहरू बताउँछन् ।
सेनासँग पर्याप्त हेलिकोप्टर नहुँदा वर्षोंदेखि नेपाली सेना र नागरिकले आवश्यक परेका बेला उद्धार गर्न र गराउन नसक्दा कठिनाइ भोग्दै आएका छन् । अमेरिकी सरकारको ’फरेन मिलिटरी फाइनान्सिङ’ अनुदान कार्यक्रमअन्तर्गत करिब १०० मिलियन अमेरिकी डलर ९झन्डै १३ अर्ब नेपाली रुपैयाँ० बराबरको यो सहयोग प्याकेज प्रस्ताव गर्दा सेनाले औपचारिक रुपमा कुनै निर्णय गरिसकेको छैन।
सैनिक स्रोतका अनुसार काठमाण्डुस्थित अमेरिकी दूतावासले यसबारे छिटो निर्णय दिन सेनाका अधिकारीहरूलाई आग्रह गरिरहेको छ। यसअघि प्राप्त भएका हवाई साधनहरूको मर्मतसम्भार र इन्धन खर्च महँगो पर्ने देखिएपछि सेनाले यो नयाँ प्रस्तावमा गम्भीरतापूर्वक छलफल गरिरहेको छ । हेलिकोप्टर सञ्चालनका लागि आवश्यक पर्ने हवाई इन्धन, प्राविधिक तालिम र दीर्घकालीन मर्मतसम्भारको वित्तीय भार नेपाली सेनाको नियमित बजेटले धान्न सक्ने वा नसक्ने विषयमा प्राविधिक परामर्श भइरहेको बताइएको छ ।
समयमा उद्धार नहुँदा कतिपयले परिवार गुमाएका छन् भने कतिपयले बेलैमा उपचार नपाउँदा पीडा भोग्दै आएका छन् । अमेरिकाले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्दै आफ्ना नागरिकहरूलाई समयमै सेवा प्रवाह गर्न सकोस् भन्ने उद्देश्यले नेपाली सेनालाई हेलिकोप्टर दिन लागेको हो । पर्याप्त हेलिकोप्टर हुँदा विपद व्यवस्थापनका लागि अन्य मुलुकको हेलिकोप्टर प्रयोग गर्नु पर्दैन र अन्य मुलुकलाई हारगुहारसमेत गर्नु पर्दैन।
नेपाली सेना स्रोत साधनमा बलियो भए विपद व्यवस्थापनमा गर्न सकिने र आत्मनिर्भर हुँदा राष्ट्रिय स्वाधीनतासमेत बलियो हुने रक्षा विश्लेषकहरूले बताएका छन् । अमेरिकी सरकारले दिने हेलिकोप्टर नेपाली सेनाले रणनीतिक हिसाबले पश्चिम, मध्य र पूर्वी एयर बेसहरूमा राख्ने तयारीसमेत गरेको छ। जसले गर्दा नेपाली सेनाले विकटता र भौगोलिक जटिलता भएका स्थानमा विपद व्यवस्थापन र उद्धार सहजै गर्न सक्छ।
सरकारले सन् २०१५ मा आएको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरूको उद्धार र राहत सामाग्री वितरण गर्न अन्य मुलुकसँग हेलिकोप्टर लगायतको सहायता मागेको थियो। त्यसबेला कतिपय हेलिकोप्टरले विना अनुमति निषेधित क्षेत्रमा उडान भरेका थिए, जसले राष्ट्रिय सुरक्षामा समेत आँच पु¥याएको रक्षा अधिकारीहरूले बताएका छन्। अमेरिकी सरकारले नेपाली सेनालाई दिने हेलिकोप्टरहरूमा एयर फ्रेमहरूमा हतियार जडान गर्न अमेरिकी नियमहरूले निषेध गरेको छ।
