आफ्नै कारणले हिरासत पुगेका गोल्छा

काठमाडौं । उद्योगी व्यवशायीक घरानामा राम्रो सफलता हासिल गरिरहेका व्यवसायी शेखर गोल्छालाई धितोपत्र सम्बन्धी कसूरमा प्रहरीले पक्राउ गर्यो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले दिएको जनाकारी अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छाविरुद्ध अनुसन्धान अघि बढाइएको हो ।

चर्चित व्यापारिक विचौलिया दीपक भट्ट पक्राउ परेपछि गोल्छा सिआइबीको निगरानीमा त थिए, तर यति छिट्टै उनी पक्राउ पर्लान् भन्ने विश्वास उनी आफैँलाई लागेको थिएन । धेरै बाठो हुँदा कहिलेकाहीँ यस्तो घटना पनि हुन्छ ।

प्रहरीले उनलाई फोन गर्दा म भैरहवामा छु नभनेको भए सायद उनी पक्राउ पर्ने सम्भावना निकै कम थियो । प्रहरीले तपाईलाई हामीले निगरानीमा राखेका छौ बाहिर कतै नजानुस् भन्दाभन्दै भैरहवामा रहेको जानकारी प्रहरीलाई दिएपछि भारत जान लागेको हो कि भन्ने आशंकामा उनलाई नियन्त्रणमा लिनुपरेको स्रोतले बताएको छ । तर उनलाई प्रहरीले भैरहवाबाटै पिछा गरेर नक्सालस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।

उनलाई पक्राउ गर्न गएको प्रहरीलाई पनि उनी आफँै आउने जानकारी दिइएको थियो । तर गोल्छा भैरहवाबाट काठमाडौँ आएपछि पनि प्रहरीको सम्पर्कमा नआएपछि उनी पक्राउ परे । प्रहरी, अस्पताल र विभिन्न सामाजिक संघ संस्थालाई करोडौ रुपैया सहयोग गर्दै आएका गोल्छाले आफू कुनै दिन प्रहरीको कष्टडीमा पुग्छु भन्नेपनि सोचेका थिएनन ।

उनले आफू पक्राउ पर्ने जानकारी प्रहरीको उच्च नेतृत्वलाई समेत दिएका थिए । प्रहरी नेतृत्वले पनि शुरुमा पक्राउ नगरी अनुसन्धान गर्न निर्देशन दिए पनि अचानक उनी भैरहवा पुगेको जानकारी पाएपछि भने शंकाको दृष्टिले हेरेको थियो । प्रहरीले उनलाई केही समय काठमाडौबाहिर नजान भनिएकोमा आफै जान्ने भएर भैरहवा पुगेपछि प्रहरीलाई पक्राउ गर्न आफैले बाध्यकारी बनाएको थिए ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष गोल्छालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका दफा ९४, ९५, ९६९१० र ९८ बमोजिम कसूर गरेको आशंकामा मुद्दा अगाडि बढाएको जनाएको छ ।

सोही ऐनको दफा १०३(३) अनुसार थप अनुसन्धानका लागि कारबाही भइरहेको छ । नेपाल प्रहरी ले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई नियन्त्रणमा लिएको हो ।

हाल उनीमाथि थप अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ । यस घटनाले बीमा तथा पूँजी बजार क्षेत्रमा थप तरंग ल्याएको छ। नयाँ सरकार गठनसँगै मुलुकमा स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएका बेला उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेक भएको भन्दै निजी क्षेत्रले गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छा पक्राउ परेपछि निजी क्षेत्रको प्रतिक्रिया आएको हो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अवस्थाले निजी क्षेत्र निरुत्साहित भएको बताएका छन्।

विज्ञप्तिमा अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पु¥याउँदै आएको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजश्व र पूर्वाधार विकासमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ।

नियामकीय निकायका प्रतिवेदनकै आधारमा उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै निजी क्षेत्रले आर्थिक कसुरका विषयमा ‘पहिले सुनुवाइ, त्यसपछि मात्रै कारबाही’को सिद्धान्त अवलम्बन गर्न सरकारसँग आग्रह गरेको छ। अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहँदा–रहँदै पनि पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित र दुःखी बनाएको उल्लेख छ।

विगत चार वर्षदेखि शिथिल अर्थतन्त्रलाई नयाँ सरकारको नीति तथा व्यवसायीमैत्री व्यवहारले गतिशील बनाउने अपेक्षा गरिएको भए पनि पछिल्ला गतिविधिले लगानी वातावरणमा नकारात्मक सन्देश जाने जोखिम रहेको निजी क्षेत्रको भनाइ छ । तर सरकारले व्यवशायीहरुको कुरा सुन्नु भन्दा पहिला थुन्ने नीति लिएको छ।